सुडानमा भएको झडपमा ६७६ जनाको मृत्युः संयुक्त राष्ट्रसंघ



एजेन्सी । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ ।

सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल-बुहारन र उप-प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल (र्‍यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ ।

‘सुडानको सशस्त्र बल र र्‍यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तुम र आसपासका क्षेत्रमा ६७६ जनाको मृत्यु भएको छ भने ५ हजार ५७६ जना घाइते भएका छन्,’ ओसीएचएले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण ९ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये ७ लाख ३६ हजार २०० आन्तरिक रूपमा विस्थापित भएका छन् भने २ लाखले छिमेकी मुलुकमा शरण लिएका छन् ।

अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तुमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन् । झडपमा विशेषगरी दर्जनौँ कारखाना लुटिएका वा जलाइएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा करिब १ करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसंख्याको करिब एक तिहाइलाई मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ ।

मे ११ मा सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह सहर जेद्दाहमा आपतकालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भए पनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन । हिंसात्मक झडपमा कमी आएको पनि छैन ।

दुवै पक्षले एक-अर्कालाई सम्झौता उल्लंघन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन् । सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान सहरको अल-मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकहरूलाई गोली हानेको आरोप लगाएको थियो ।

यद्यपि आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ र यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।


क्लिकमान्डु