हिरासतमा राखेर अनुसन्धान गर्न खाँणलाई दोस्रो पटक जिल्ला अदालत लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ पर्नुभएको नेपाली काँग्रेस नेता बालकृष्ण खाँणलाई दोस्रो पटक जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा उहाँलाई आईतवार जिल्ला अदालत काठमाडौंमा दोस्रो पटक उपस्थित गराइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा काँग्रेस नेता खाँणसहित १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालत लगिएको हो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा खाँणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईकासाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परेका छन् ।

सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार छन् ।


क्लिकमान्डु