धरानका मेयर साङपाङको बिरोधमा सुनसरीका पत्रकार किन उत्रिए ?



सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलित भएका छन् ।

मेयर साङपाङको अभिव्यक्ति र व्यवहारले आफूहरु असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

शुक्रबार (आज) महासंघले मेयर साङपाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरुको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साङपाङबाट आफूहरुको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरु विरुद्ध आफ्ना समर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए ।

‘फेसबुकबाट व्यक्त गर्ने विचारहरुले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरुलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौं । यो असुरक्षालाई तपाईहरुको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौं । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरुलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौं’ उनले भने ।

मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यवद्धता जनाएको छ ।


क्लिकमान्डु