पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाणबारे कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीबार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले खाण अभियुक्त मात्र भएकाले अदालतको आदेशसम्म कुर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए ।
खाणले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताए ।

‘कुनै पनि मुद्दामा अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनै पनि व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ, हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ, नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन’ उनले भने ।

सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए ।


क्लिकमान्डु