भारतमा बढ्दै एप्पलको व्यापार र उपस्थिति, ‘टेक जायन्ट’ किन छिर्दै छ भारत ?



काठमाडौं । गत वर्ष अक्टोबरमा बिबिसी हिन्दीले एक रिपोर्ट तयार गरेको थियो, जसमा प्राविधिक क्षेत्रको सबैभन्दा ठूलो कम्पनी ‘एप्पल’को भारत प्रवेश र त्यसले चीनमा पार्ने प्रभावको विश्लेषण गरिएको थियो । एप्पलले अक्टोबरमा नै आफ्नो नयाँ मोडलको ‘आईफोन १४’ निर्माण भारतमा गर्ने जनाएको थियो ।

जानकारीका लागि, ‘एप्पल’का प्राय: फोन चीनमा बन्ने गरेका छन् । ‘मास प्रोड्युस’ गरिने भएकाले पनि चीन एप्पलका लागि एउटा सहुलियतपूर्ण ठाउँ हो । सस्ता कामदार र ठूलो संख्यामा उत्पादन गर्न सकिने कारखाना चीनमै भएका कारण विगतमा चीन नै आईफोन उत्पादनको हब थियो ।

चीनभन्दा बाहिर एप्पलले आफ्ना फोन निर्माण गर्ने फैसला कम्पनीका लागि मात्रै नभएर विश्वकै लागि महत्वपूर्ण विषय थियो । चीन र भारतबीच अप्रत्यक्ष रुपमा कुन देश शक्तिशाली अर्थतन्त्र बन्ने भन्दै भइरहेको दौडका बीच एप्पलले भारतमा पनि आफ्ना फोनहरुको उत्पादन गर्ने निर्णय गर्नु निकै महत्वपूर्ण थियो ।

त्यसबेला विज्ञहरुले २०२२/२०२३ भित्रमा आईफोन १४ को ५ प्रतिशत उत्पादन भारतमा हुने अनुमान गरेका थिए । अमेरिकाकै शक्तिशाली बैंक जेपी मोर्गन इन्भेस्टमेन्ट बैंकका विशेषज्ञहरुले सन् २०२५ सम्ममा एप्पलको कुल आईफोन उत्पादनको एक चौथाई आईफोन भारतमा बने बताएका थिए ।

एप्पलको यस्तो घोषणाको ६ महिनापछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक भारतमा देखा परे । गत अप्रिलमा कुक भारत भ्रमणमा थिए । तर, यो भ्रमण मात्रै थिएन ।

भारतमा भइरहेको एप्पलको व्यापार र प्रभावलाई थप बढाउने कडी पनि थियो । भ्रमणका क्रममा कुकले भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई भेट्नेदेखि दुई स्थानमा एप्पलको आधिकारिक स्टोर पनि खोलेका थिए ।

कुकको भ्रमणसँगै एप्पलले भारतमा आफैं उपस्थिति बढाउन अन्य थुप्रै कदम चालेको छ । आईफोन बनाउने प्लान्ट सुरु गर्नेदेखि व्यापारलाई पनि बढोत्तरी गर्न एप्पलका कदम सक्रिय रुपमा देखिन्छन् ।

हालै केही दिन अघिमात्रै भारतको बेंग्लोरमा आईफोन बनाउन प्लान्ट सुरु गर्नका लागि जमिन पनि किनिएको छ । एप्पलको साझेदार कम्पनी फक्सकन टेक्नोलोजी ग्रुपले गत सोमबार बेंग्लोर एयरपोर्टनजिकै देवनहल्ली क्षेत्रमा १३ मिलियन स्क्वायर (१ करोड ३० लाख स्क्वायर फुट) क्षेत्रफल जमिन किनेको छ । यो ठाउँमा भारतमै आईफोन उत्पादनका लागि प्लान्ट बन्न लागेको हो ।

व्यापारिक रुपमा ठूलो बजार भारतमा पनि भएको एप्पलले अहिले आफ्नो व्यापारमा मात्रै केन्द्रित नभएर उत्पादनदेखि कारखानासम्म निर्माणको कुरालाई भारतमा केन्द्रित गरेको छ । विश्वकै ठूलो प्रविधि कम्पनीको यस्तो कदमले आर्थिक हिसाबमा त महत्व राख्छ नै, सँगै यसले विश्व व्यापारमा एप्पलले अपनाइरहेका विगतका रणनीतिदेखि भारत र चीनबीचको अर्थतन्त्रको अन्तरलगायतका कुरासँगै भू–राजनीतिक रुपमा पनि महत्व राख्ने देखिन्छ ।

विगत १५ वर्षदेखि एप्पलको व्यापारमा ठूलो भूमिका खेलिरहेको चीनबाट बाहिर निस्कँदै भारततर्फ कम्पनी केन्द्रित हुनुका थुप्रै कारण देखिन्छन् ।

किन एप्पल छिरिरहेछ भारत ?

आर्थिक सञ्चारमाध्यम सिएनबिसीका अनुसार एप्पलले भारतमा मध्यम वर्गीय मानिसमा पनि व्यापार विस्तार गर्ने हेतुले अहिले आक्रामक रुपमा आफूलाई भारतमा विस्तार गरिरहेको छ । सँगै एप्पलको आक्रामक विस्तारले चीनमाथिको निर्भरतालाई कम गर्ने र विश्व बजारमा उदाउँदो अर्थतन्त्त बनिरहेको भारतमा आफ्ना उपकरणको उत्पादनको नयाँ ‘हब’ सिर्जना गर्न खोजेको पनि देखाएको छ ।

त्यसो त भारतमा एप्पललाई बजार विस्तार गर्ने पर्याप्त ठाउँ छ । चीनमा १८ प्रतिशत बजार हिस्सा रहेको एप्पलको भारतमा ५ प्रतिशत मात्र छ । यस्तो अवस्थामा भारतमै उत्पादन गर्ने र आधिकारिक स्टोरहरु खोलेर भारतमै बिक्रीलाई बढाउने हो भने भारतीय स्मार्ट फोन बजारमा एप्पल स्मार्टफोनको हिस्सा बढ्दै जाने देखिन्छ । सँगै भारतीय अर्थतन्त्र तीव्र रुपमा बढ्दै गइरहेकाले एप्पलका अन्य उपकरणको पनि प्रयोग र बिक्री बढ्दै जाने देखिन्छ ।

‘सिएफआरए’ अनुसन्धान संस्थामा शीर्ष शोधकर्ता रहेकी एन्जेला जिनोका अनुसार अहिले भारतको बजार १५ देखि २० वर्षअघिको चिनियाँ बजार जस्तै देखिएको छ । उनी भन्छिन्, ‘आज तपाईंले भारतलाई हेर्ने हो भने १५ देखि २० वर्षअघिको चीनसँग मिल्दोजुल्दो देखिन्छ । यस्तो अवस्थामा भारत अघि बढ्दै अर्थतन्त्रमा तीव्र छलाङ मार्ने स्पष्ट छ । एप्पलले पनि यही समयमा भारतको बजारमा प्रभुत्व जमाउन सकेमा आम्दानी र प्रभाव दुवै बढ्ने स्पष्ट छ ।’

भारत अझै पनि एसियाको तेस्रो ठूलो अर्थव्यवस्था हो । चीन र जापानपछि भारत नै एसियामा शक्तिशाली अर्थव्यवस्था रहेको देश हो । अहिले भइरहेको तीव्र आर्थिक वृद्धिले भारतलाई थप माथि लैजाने पनि सम्भावना बढेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरकै प्रतिष्ठित कम्पनीको उपस्थिति भारतमा बृहत् हुनुले निकै ठूलो महत्व राख्छ ।

अर्कातिर, चीन र अमेरिकाबीच बढ्दै गएको तनावका कारण पनि एप्पललाई कालान्तरमा समस्या हुन सक्ने देखिन्छ । फोमलहाट टेक्नो सोलुसनका अनुसार आईफोन बन्नमा आवश्यक पर्ने ४.६ प्रतिशत वस्तु चीनमा बन्ने गरेका छन् । ताइवानमा ११.१, जापानमा १३.६, दक्षिण कोरियामा २६.८ र युरोपमा २१.९ प्रतिशत कम्पोनेन्ट बन्छन् । अमेरिकामा २१.९ प्रतिशत कम्पोनेन्ट बन्छन् ।

तर, चीन र अमेरिकाबीच तनाव बढ्दै जानु र ताइवानको मुद्दालाई लिएर पनि चीनले जुनसुकै बेलासमेत जस्तोसुकै कदम चाल्न सक्ने हुनाले कम्पनीलाई आफ्नो उत्पादन रोक्नुपर्ने बाध्यता आउन सक्छ । त्यसो हुन नदिनका लागि पनि भरपर्दो र वैकल्पिक ठाउँ चाहिन्छ, जहाँ उत्पादनदेखि बजार पनि विस्तारका लागि पनि भविष्य र सहजता होस् । र, एप्पलले पाएको त्यो ठाउँ भारत नै हो ।

आईफोन बन्न चाहिने कम्पोनेन्टमध्येमा चीनबाट आउने ४.८ प्रतिशतबाहेक अन्य देशसँग भारतको आयात–निर्यातको सम्बन्ध पनि सहज छ । जसले गर्दा भारतमा आईफोनको उत्पादनका लागि सहज अवस्था सिर्जना गर्न एप्पललाई धेरै टाउको दुखाउनुपर्ने देखिँदैन ।

सन् २०२० मा चीनमा कोभिडका कारण र त्यसपछि पनि पटक–पटक चीनले लिएको सख्त शून्य कोभिड नीतिका कारण एप्पलले समस्या भोग्नुपरेको थियो । आफ्ना वस्तुको वैश्विक वितरणमा समस्यादेखि उत्पादनमै पनि कमी देख्नुपर्दा कम्पनीलाई भविष्मा नोक्सान हुने जोखिम बढी भएको देखिन्छ । यसको समाधानका लागि पनि उपयुक्त गन्तव्य भारत भएको छ ।

भारतले अहिले निर्माण र निर्यातको केन्द्रका रुपमा आफूलाई विकास गर्न बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्ने कोशिश गरिरहेको छ । भारतको बजार नै ठूलो छ र यहाँ श्रमको मूल्य पनि अन्य देशको तुलनामा केही सस्तो छ ।

यस्तो अवस्थामा एप्पलले भारतबाट पर्याप्त फाइदा लिन सक्छ । संसारकै ठूलो जनसंख्या र शक्तिशाली अर्थव्यवस्था भएको ठाउँमा सस्तो मूल्यमा मानव संसाधन पाउनुले एप्पललाई आफ्नो उत्पादन वृद्धि गर्न पनि सहज अवस्था हुन्छ ।

अर्कातिर, भारतको पक्षबाट हेर्दा पनि एप्पलको प्रवेश सकरात्मक छ । आर्थिक हिसाबमा हेर्दा भारतबाट हुने निर्यात पछिल्लो एक दशकमा ३ सय अर्ब अमेरिकी डलर थियो भने अहिले ४ सय अमेरिकी डलरभन्दा धेरै पुगेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र उनको सरकारले व्यापार सम्झौतालाई पनि तीव्रताका साथ विस्तार गर्दै लैजाने र भारतलाई वैश्विक बजारमै सामान आपूर्ति गर्ने प्रमुख राष्ट्र बनाउन खोजिरहेको छ । यस्तोमा भारतमा एप्पलको सामान उत्पादन र निर्यात हुनुले अर्थतन्त्रमा थप ठेवा पुग्ने देखिन्छ ।

सँगै एप्पल भारतमा सबैभन्दा शीर्ष स्थानको रोजगारदाता कम्पनी पनि बन्दै गएको छ । गत सोमबार मात्रै बेंग्लोरमा बन्ने निर्णय भएको एप्पलको प्लान्टमा १ लाखभन्दा धेरै रोजगारीका अवसर सिर्जना हुने देखिएको छ ।

चीनको झेग्झौंमा रहेको एप्पलको सबैभन्दा ठूलो एसेम्ली कम्प्लेक्समा हाल २ लाख कर्मचारी काम गर्छन् । कहिलेकाहिँ उत्पादन बढाउनुपर्दा यो संख्या हेरफेर पनि हुन्छ । भारतमा एउटै प्लान्टमा १ लाखले रोजगारी पाउनुले एप्पलका थप प्लान्ट बन्दा रोजगारीका लाखौं अवसर सिर्जना हुने देखिन्छ ।

सन् २०१७ बाट नै भारतमा आईफोनहरु बनिरहेका छन् । भारतमा फक्सकोन, विस्ट्रान र पेगाट्रानले आईफोन उत्पादनको काम गर्दै आइरहेका छन् ।

अब प्रमुख कम्पनी एप्पल नै आक्रामक भएर बजार विस्तार गर्नतर्फ जाँदा यसमा थप वृद्धि हुने पनि देखिएको छ । सन् २०१७ बाट एप्पलले आईफोन एसईको उत्पादनसँगै आफ्नो उत्पादनलाई पनि भारततर्फ मोडेको थियो ।

काउन्टर पोइन्ट रिसर्चका अनुसार हाल भारतमा वार्षित १ करोड ३० लाख आईफोन उत्पादन हुन्छ, जबकि पाँच वर्षअघि यो ५० लाख मात्र थियो । विश्व बजारमा यो भनेको ६ प्रतिशत हो । र, चीनसँग तुलना गर्ने हो भने यो निकै सानो संख्यामा देखिन्छ । चीनले अझै पनि ९० प्रतिशत आईफोन उत्पादन गर्ने गरेको छ ।

यस्तो अवस्थामा एप्पल कम्पनीले भारतलाई आफ्नो नयाँ हबको रुपमा विस्तार गर्न खोजेको छ । भारतीय सरकारको सहजता र कम्पनीका लागि मैत्रीपूर्ण नीतिले पनि भारतमा विस्तार हुन सहजता देखिएको छ ।

केही समयअघि मात्रै भारतका वित्तमन्त्री पियुष गोयलले एप्पललाई भारतमा विस्तार हुन र व्यापार फैलाउन सहयोग गर्ने बताएका थिए । सँगै कम्पनीले २५ प्रतिशत आईफोनको उत्पादनलाई २५ प्रशितसम्म पुर्‍याउने बताएको गोयलले उद्धृत गरेका थिए ।

के एप्पलका लागि चुनौती छैनन् ?

भारतमा विस्तार हुँदा एप्पलका लागि चुनौती नभएको होइन । चुनौती छन् । तर, भारतको बजारको अवस्थासँगै यावत् कारणले गर्दा यी चुनौती पार गर्न पनि धेरै कठिनाइ भने नहुने देखिन्छ ।

काउन्टर पोइन्ट रिसर्च संस्थामा प्रविधि बजार शोध विभागका उपाध्यक्ष निल शाहका अनुसार एप्पलले भारतमा भोग्ने समस्या भनेको कच्चा पदार्थको उपलब्धता हो । अझै पनि भारतमा बन्ने आईफोनका लागि आवश्यक सामग्री अन्य देशबाट आउँछन् ।

यस्तो अवस्थामा कम्पनीले भारतमै यस्ता वस्तु उपलब्ध गराउने स्थानीय वितरक खोज्नुपर्ने वा चीन, जापान, ताइवानजस्ता देशमा भएका एप्पलका सामग्री वितरकलाई भारतमा ल्याएर काम गर्नुपर्ने शाह बताउँछन् । यसो भएमा भारतमा उत्पादन हुने आईफोन वा एप्पलका अन्य उपकरणको मूल्य भारतीय बजारका लागि थप सस्तिने सम्भावना पनि ज्यादै रहन्छ भने उत्पादनको खर्च पनि न्यूनीकरण हुन्छ ।

तर, यो लक्ष्य पनि भेटिने उनी बताउँछन् । टायम डटकमसँगको कुराकानीमा उनी भन्छन्, ‘भारतमा भएको सस्तो कामदार र सरकारले कम्पनीहरुलाई दिइरहेको सहुलियतले एप्पललाई यो बजारमा स्थापित हुन र उत्पादनमा खर्च न्यूनीकरण गर्दै जान धेरै समय लाग्दैन । एप्पल आफू विश्वस्त नभई कुनै बजारमा छिर्दैन । भारतमा एप्पलले भविष्य देखेरै छिरेको हो ।’


क्लिकमान्डु