च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न गुगल ‘बार्ड’ सार्वजनिक, कसरी गर्ने प्रयोग ?



काठमाडौं । गुगुलले बुधबार आफ्नै आर्टिफिसिल इन्टिलिजेन्स (कृतिम बुद्धिमता)सहितको च्याटबट ‘बार्ड’ सार्वजनिक गरेको छ।

अमेरिकाको क्यालिफोर्नियामा कम्पनीको वर्षकै ठूलो कार्यक्रम ‘गुगल आई/ओ २०२३’मा एआई च्याटबट बार्ड सार्वजनिक भएको हो । उक्त च्याटबट संसारभरका १८० देशहरुमा एक साथ सञ्चालनमा आएको छ ।

यसअघि उक्त च्याटबट अमेरिका र बेलायतमा मात्रै परीक्षणात्मक प्रयोगका लागि सार्वजनिक भएको थियो । अब भने उक्त च्याटबट संसारभरका १८० देशमा सञ्चालनमा आएको हो ।

कम्पनीले आफ्नो च्याटबटलाई ओपन एआई कम्पनीको च्याटबट ‘च्याटजिपीटी’लाई प्रतिस्पर्धा दिने गरी सार्वजनिक गरेको बताएको छ ।

गुगलको बार्ड पहिले टेक्स्ट अर्थात लिखित रुपमा जवाफ दिने गरि मात्रै सार्वजनिक थियो । अब भने यसलाई थप सक्रिय र चुस्त प्रतिक्रिया दिने गरि तस्बिर तथा भिजुअल माध्यमहरुसँग पनि जोडिएको छ ।

यो विशेषतासँगै अब प्रयोगकर्ताले कुनै विषयमा आफ्नो जिज्ञाशा बार्डमा सोध्दा टेक्स्टसँगै तस्बिर तथा भिडियोमार्फत जवाफ पाउनेछन् ।

उदाहरणका लागि कुनै प्रयोगकर्ताले आफूलाई काठमाडौं यात्रा गर्न मन भएको र त्यहाँका उत्कृष्ट ठाउँहरुको बारेमा बार्डलाई सोधेमा जवाफमा टेक्स्टसँगै काठमाडौंका उत्कृष्ट ठाउँहरुको तस्बिर तथा भिडियो पनि सामेल हुनेछ ।

कसरी गर्ने प्रयोग ?

१८० देशमा सार्वजनिक भएबो बार्ड प्रयोग गर्न निकै सहज छ ।

सबैभन्दा पहिले गुगलले बार्ड प्रयोगका लागि बनाएको वेबसाईट https://bard.google.com मा गएर आफ्नो गुगल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ । उक्त वेबपेज हुलेसँगै त्यहाँ ‘ट्राई मि’ अप्सन देख्छि । उक्त अप्सनमा क्लिक गरेर बार्डको गोपनियताको नीति (प्राईभेसी पोलिसी) स्वीकार गरेपछि बार्डको प्रयोग गर्न पाइन्छ ।

बुधबार बार्डलाई विश्वभरमा सार्वजनिक गरेको गुगलले अब विश्व एआईतर्फ गएको र यसले भविष्य बदल्ने बताएको थियो । कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष (सीईओ) सुन्दर पिचाईले बार्डसँगै गुगलले अब भविष्यमा गुगलको सर्च इन्जिनमा पनि जेनेरेटिभ एआईको प्रयोग गरिने बताएका छन् ।

उनकाअनुसार बार्डले विश्वभरका ४० भाषाहरुमा काम गर्ने गरि तयार गर्दै जाने पनि बताएका छन् । हाल बार्डमा अंग्रेजी, जापनिज र कोरियन भाषामा प्रतिक्रिया वा जवाफहरु पाउन सकिन्छ ।


क्लिकमान्डु