बुद्ध एयरका सञ्चालक दाजुभाइबीच चर्कियो सम्पत्ति विवाद



काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद सतहमा आएको छ ।

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उनीहरुबीच सम्पत्ति विवाद बढेको हो । सुरेन्द्रबहादुरको पुस १० गते निधन भएको हो ।

विवाद बढ्दै गएपछि भाइ शिवेन्द्रले पत्रकार सम्मेलन नै गरेर विषय बाहिर ल्याएका छन् । पत्रकार सम्मेलनमा उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भए पनि ६० प्रतिशत सेयर रहेको पक्षले ठूलै आर्थिक घोटाला गरेको आशंका व्यक्त गरे ।

दाइ (वीरेन्द्र)ले बुद्ध एयरको सम्पत्ति र दायित्वसम्बन्धी हिसाब पारदर्शी रुपले नदेखाएका कारण पत्रकार सम्मेलन गर्नुपरेको उनको प्रस्टोक्ति छ । उनका अनुसार बुद्ध एयरमा बाबु सुरेन्द्रको ८० प्रतिशत र दाजु वीरेन्द्रबहादुर बस्नेतको २० प्रतिशत सेयर स्वामित्व थियो ।

बाबु (सुरेन्द्र) ले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशतमध्येको आधा वीरेन्द्र र आधा शिवेन्द्रको परिवारको नाममा गरिदिएको उनको दाबी छ । यसअनुसार ६० प्रतिशत वीरेन्द्र र ४० प्रतिशत सेयर आफ्नो परिवारको नाममा आएको उनको दाबी छ ।

४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानुनबमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्दा पनि नदिएको उनको आरोप छ ।

दाइ वीरेन्द्रबहादुरको परिवारका नाममा काठमाडौंमा ४ वटा र पोखरा, रामेछाप र भैरहवामा एक–एक वटा घर रहेको भन्दै उनले त्यसको स्रोतबारे पनि प्रश्न उठाएका छन् ।

२५ वर्षअघि स्थापना गरिएको बुद्ध एयरले हाल १७ वटा विमानमार्फत सेवा दिँदै आएको छ । दैनिक ७० देखि ८० उडान भर्ने यो कम्पनीले करिब ६० प्रतिशत आन्तरिक उडानको हिस्सा ओगट्छ । यस विषयमा दाइ वीरेन्द्रबहादुरको भने कुनै प्रतिक्रिया आएको छैन ।


क्लिकमान्डु