एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ नियुक्त



काठमाडौं । एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन् ।

एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । उनले आज (वैशाख २७)बाट आफ्नो कार्यभार सम्हालेका छन् ।

यससँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा ग्रुपको प्रधान कार्यालयमा १ जुन २०२३ देखि ‘आजियाटा गु्रप चिफ कर्पोरेट अफिसर’का रुपमा कार्यभार सम्हाल्नेछन् ।

जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भिओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव छ ।

दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्रयाक रेकर्ड राख्न सफल जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन् । एनसेलमा आवद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए र डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए । ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु । प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु,’ उनले भनेका छन् ।

जाब्बोरले १ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा गौरवान्वित महसुस भएको बताएका छन् । दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्रयाक रेकर्ड कायम गरेका छन् ।

पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेसलगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन् । उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नयाँ प्रविधि र ग्राहककेन्द्रित नवीन सेवा-सुविधामा जाब्बोरको चासो छ । डिजिटल इनोभेसन, उच्च ग्राहक सन्तुष्टि र व्यावसायिक सफलता हासिल गर्नका लागि सहयोगी वातावरण अत्यावश्यक रहने उनको विश्वास छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । एनसेलले स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका क्षेत्रमा १ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।


क्लिकमान्डु