गुगलको ‘आई/ओ २०२३’ कार्यक्रम आज, फोल्ड हुने फोनदेखि पिक्सल ‘सेभेन ए’ सार्वजनिक हुने
एजेन्सी । प्रविधि कम्पनी गुगलको सबैभन्दा ठूलो कार्यक्रम ‘गुगल आई/ओ २०२३’ आज हुँदै छ । नेपाली समयअनुसार आज राति १० बजे अमेरिकाको क्यालिफोर्नियामा यो कार्यक्रम हुँदै छ ।
कार्यक्रममा गुगलले पहिलो फोल्डेबल फोनदेखि पिक्सल ट्याब्लेटसम्म सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कम्पनीले एन्ड्रोइड १४ का विभिन्न विशेषतासँगै आर्टिफिसिल इन्टिलिजेन्स (कृतिम बुद्धिमत्ता)सहितको च्याटबट ‘ब्रार्ड’ पनि सार्वजनिक गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
गुगलको गत वर्षको कार्यक्रममा पिक्सल सिक्स ए फोन सार्वजनिक भएको थियो । मिडिया रिपोर्टकाअनुसार यो वर्ष कम्पनीले पिक्सल फोनको नयाँ भर्जन ‘पिक्सल सेभेन ए’ सार्वजनिक गर्दै छ ।
६.१ इञ्चको डिस्प्ले, ६४ मेगापिक्सलको प्रमुख क्यामेरा र १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरासहितको यो फोनको सम्भावित ७३ हजार ५९० रुपैयाँ (४५ हजार ९९० भारु)को आसपास हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कम्पनीले यो कार्यक्रममा गुगल पिक्सलकै फोल्डेबल फोन पनि सार्वजनिक गर्न सक्ने सम्भावना रहेको छ । कम्पनीले हालसालै अनौपचारिक रुपमा आफ्नो फोल्डेबल फोनलाई सार्वजनिक गरेको थियो । तर, हालसम्म कम्पनीले यो फोनमा हुने विशेषताहरु के के हुनेछन् भन्ने बताएको छैन ।
त्यस्तै, आजको कार्यक्रममा कम्पनीले पिक्सल ट्याबलेट पनि सार्वजनिक गर्न सक्नेछ । सन् २०२२ अक्टोबरमा पहिलो पटक पिक्सेल ट्याब्लेटको विषयमा आधिकारिक अभिव्यक्ति दिएको कम्पनीले यो ट्याब्लेटमा गुगल टेन्सर जि टु प्रोससरका साथमा सार्वजनिक हुने जनाईएको छ ।
त्यस्तै, यसअघि नै गुगले डेभलोपर्स प्रीव्यूका रुपमा सार्वजनिक गरेको एन्ड्रोईड १४ पनि आज सार्वजनिक हुने सम्भावना रहेको छ । कम्पनीले नयाँ अपरेटिङ सिस्टमलाई लिएर नयाँ विशेषताहरु सार्वजनिक गर्ने तयारी रहेको बताईएको छ ।
यी बाहेक कम्पनीले आफ्नै आर्टिफिसियल इन्टिलिजेन्ससहितको च्याटबट ब्रार्ड पनि सार्वजनिक गर्न सक्ने सम्भावना रहेको छ । कम्पनीले केही समययता आफ्नै च्याटबटलाई लिएर पनि काम गरिरहेको थियो । जसकारण आजको कार्यक्रममा यो च्याटबट सार्वजनिक हुने सम्भावना प्रचुर रहेको छ ।