ह्वाट्सएप र ट्रुकलरबीच सहकार्य, अब ह्वाटसएपमै देखिनेछ नयाँ नम्बरको जानकारी



एजेन्सी । ह्वाट्सएपले फोन गर्ने व्यक्तिको पहिचान सम्बन्धि सेवा (कलर आईडेन्टिफिकेसन सर्विस) दिने कम्पनी ट्रुकलरसँग सहकार्य गरेको छ ।

ह्वाट्सएपमा आउने स्प्याम फोनलगायतको समस्या समाधानका लागि नयाँ विशेषता थप्ने गरि कम्पनीले ट्रुकलरसँग सहकार्य गरेको हो । यो विशेषता अडियो र भिडियो दुवै किसिमका ह्वाट्सएप कलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो विशेषता ह्वाट्सएपमा जोडिएसँगै प्रयोगकर्ताले फेक, स्प्याम र इन्टरनेटको माध्यमबाट आउने फोनहरुको पहिचान गर्न पाउनेछन् । हालसम्म ट्रुकलरले प्रयोगकर्ताको फोनमा टेलिकम वा नेटवर्क सेवा प्रदायकको माध्यमबाट आउने फोनहरुमा मात्रै सम्पर्क गर्ने व्यक्तिको पहिचानबारे जानकारी दिने गरेको थियो । तर, अब ह्वाट्सएपमा पनि यो सुविधा उपलब्ध हुनेछ ।

ट्रुकलरका प्रमुख कार्यकारी अधिकृत एलन ममेदीकाअनुसार यो विशेषताको प्रारम्भिक परीक्षण (बेटा टेस्टिङ्ग) सुरु भएको छ ।

मे महिनाको अन्त्यसम्ममा यो विशेषतालाई संसारभरका ह्वाट्सएप प्रयोगकर्ताहरुमा पुर्याउने लक्ष्य लिईएको उनले बताएका छन्।

पछिल्लो समय ह्वाट्सएपबाट हुने ठगी, स्प्याम, मार्केटिङजस्ता समस्याहरु बढ्दै गएका थिए । प्रयोगकर्तालाई सम्पर्क गर्ने व्यक्तिको यकिन पहिचान नहुने भएकाले पनि ह्वाट्सएपको माध्यमबाट यस्ता समस्याहरु मौलाएका थिए ।

अब भने ट्रुलरको विशेषता जोडिएसँगै प्रयोगकर्ताले आफूलाई सम्पर्क गर्न खोजेको व्यक्तिको पहिचानबारे स्पष्ट जानकारी लिन पाउने हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु