शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटामा



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

यो अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ । यस्तै प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो ।

यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।


क्लिकमान्डु