चैतमा मुद्रस्फीति ७.७६ प्रतिशत, काठमाडौं उपत्यकामा बढी महँगी



काठमाडौं । २०७९ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत विन्दु बढी हो ।

गत वर्ष चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति छ । २०७८ चैत महिनामा यी क्षेत्रमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति थियो ।

२०७९ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा थोक मुद्रास्फीति १४.४२ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ०.२१ प्रतिशत, ८.८८ प्रतिशत र ५.१८ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.१४ प्रतिशत छ ।


क्लिकमान्डु