स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफः एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताए । मन्त्री महतले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके विदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको जानकारी गराए ।

उनले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताए । उनले नेपालमा लगामीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।

‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्नेकुरा अब हुँदैनन् । त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौं । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ । विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् । ति सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ’ उनले भने ‘ फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ । त्यसको आधारलाई फराकिलो बनाउनुपर्छ । फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानी गर्नुहोस्, नियम छ, कानून छ, नियम, कानून पालना गरेर तपाईले उत्पादन, उद्योग व्यवसाय बढाउनु भयो की भएन भन्नेकुरा हामी हेर्नेछौँ ।’

अर्थमन्त्री महतले आफ्नो पूरा कोशिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरु खोल्नु रहेको बताए ।

उनले संसदमा अहिले अर्थतन्त्रको पूरा सल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अफ्ठ्यारो हुने बताउनु भयो । संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताए ।

‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो’ उनले भने ‘तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ । शुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ ।’

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताए ।


क्लिकमान्डु