स्मार्ट टेलिकमलाई ऋण दिने ३ बैंकको २ अर्ब २१ करोड जोखिममा
काठमाडौं । राज्यलाई तिर्नुपर्ने २१ अर्ब ८६ करोड रुपैयाँ र त्यसको जरिवानास्वरुप लाग्ने १५ प्रतिशत थप रकम भुक्तानी नगरेपछि लाइसेन्स खारेजी भएको स्मार्ट टेलिकमा ३ बैंकको २ अर्ब २१ करोड रुपैयाँ बराबरको ऋण जोखिममा परेको छ ।
बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिएर उसका सम्पत्ति बिक्री गरेर असूल गर्ने प्रक्रिया अघि बढाएसँगै बैंकको ऋण के हुने हो भन्ने चिन्ता बढेर गएको हो ।
बुधबार प्राधिकरणले सबै पूर्वाधार हस्तान्तरण गर्न सूचना जारी गरेको थियो । तर, सूचना जारी गर्दा समेत स्मार्ट टेलिकमले सम्पत्ति हस्तान्तरण नगरेपछि प्राधिकरणका टोली गएर कम्पनी नै नियन्त्रणमा लिएको छ ।
स्मार्ट टेलिकमले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब ३१ करोड ७१ लाख, प्राइम बैंकबाट ७३ करोड ३९ लाख र लक्ष्मी बैंकबाट ८ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
उसले क्षमता, सेवा विस्तार तथा प्रविधि खरिदका लागि बैंकबाट ऋण लिएको थियो । तर, प्राधिकरणले स्मार्टलाई दिएको लाइसेन्स नै खारेज भएपछि ऋण जोखिममा परेको हो ।