अमेरिकामा १६ वर्ष यताकै उच्च विन्दुमा ब्याजदर, फेडले फेरि बढायो ब्याज



एजेन्सी । महँगी नियन्त्रण गर्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जबले १४ महिनामा १० औं पटक ब्याजदर बढाएको छ । बुधबार अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउँदै ५ देखि ५.२५ प्रतिशत कायम गरेको छ ।

यसअघि गत मार्चमा फेडले ब्याजदर बढाएर ४.७५ देखि ५ प्रतिशत पुर्‍याएको थियो ।

फेडले बुधबारको ब्याजदर वृद्धि हाललाई अन्तिम हुने संकेत गरेको छ ।

‘आगामी दिनमा फेरि ब्याजदर बढ्न सक्ने सम्भावना छ भनेर हामी भनिरहेका छैनौं,’, फेडरल रिर्जबका अध्यक्ष जेरोम पावेलले भने,‘यसको अर्थ अब ब्याजदर बढ्दैन भन्ने पनि होइन । हामी आगामी दिनमा प्राप्त हुने तथ्यांकका आधारमा निर्णय गर्नैछौं ।’

अमेरिकामा एक दशकयताकै उच्च दरमा महँगी बढेपछि फेडले ब्याजदर बढाउने निर्णय गरेको थियो ।

यस्तै, संयुक्त अधिराज्य, युरोप लगायतका कयौं देशका केन्द्रीय बैंकले महँगीसँग जुध्न ब्याजदर बढाइरहेका छन् ।

ब्याजदर वृद्धि हुँदा बस्तु तथा सेवाको मूल्य बढ्ने, त्यसले बजारमा माग घटाउने र माग घट्दा मूल्य घटेर महँगी नियन्त्रणमा आउने विज्ञहरु बताउँछन् ।

सिलिकन भ्याली, सिग्नेचर बैंक र फस्ट रिपब्लिक बैंक टाटपल्टिएपछि फेडले ब्याजदर नबढाउने आकलन गरिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय परामर्श संस्थाहरुले फेड ब्याजदर बढाउने निर्णयबाट पछाडि हट्ने आकलन गरेका थिए ।
तर, अझै महँगी नियन्त्रणमा नआएको भन्दै फेडले १० औं पटक ब्याजदर बढाउने निर्णय गरेको हो ।

यसअघि सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको ब्याजदर ५ प्रतिशत माथि पुगेको थियो । कोरोना महामारीपूर्व ०.२५ प्रतिशत रहेको ब्याजदर पछिल्लो १४ महिनादेखि निरन्तर बढीरहेको छ ।


क्लिकमान्डु