अफगानिस्तानलाई आयरल्यान्डबाट १५ लाख युरो सहयोग



एजेन्सी । अफगानिस्तानले सन् २०२३ का लागि अफगानिस्तान मानवीय कोष (एएचएफ) मा १५ लाख युरोबराबरको आर्थिक सहायता प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अफगानिस्तानका जनताका लागि आयरल्यान्डले हालै गरेको महत्वपूर्ण योगदानले आम अफगानीको जीवनमा प्रभाव पर्ने उल्लेख छ ।

सन् २०२१ को अगस्टमा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमाएपछि पूरै अफगानिस्तानमा गरिबी र भोकमरीमा उल्लेखनीय वृद्धि भएको छ ।

सन् २०२३ मा करिब दुई करोड ८३ लाख अफगानी अर्थात् देशको जनसंख्याको करिब दुई तिहाइलाई तत्काल मानवीय र सुरक्षात्मक सहायताको आवश्यकता पर्ने ओसीएचएलाई उद्धृत गरी खामा प्रेसले जनाएको छ ।

यस वर्षको सुरुमा विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा खराब मानवीय विपत्ति अफगानिस्तानमा भएको थियो । मानवीय संस्थाहरूले अन्तर्राष्ट्रिय जगतलाई अफगानी जनताको साथमा ऐक्यबद्धता कायम राख्न र यस कठिन घडीमा सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका थिए ।

तालिवान सरकारले विशेषगरी महिला र बालिकामाथि लगाएको प्रतिबन्धका बाबजुद सन् २०२३ मा अफगानिस्तानका जनतालाई जीवनरक्षक सहयोग प्रदान गर्न सहायता संस्था र मानवीय संस्थाहरू प्रतिबद्ध देखिएका छन् ।


क्लिकमान्डु