तातोपानी नाका दुईतर्फी खुल्दा निर्यातका लागि सजिलो



काठमाडौं । नेपाल-चीन व्यापारीक तातोपानी नाका ८ वर्षपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।

२०७२ को भूकम्पदेखि पूर्णरुपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमबारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो । भूकम्पको बहानामा चीनले तातोपानी नाका दुबैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो । भूकम्पपछि तातोपानी नाका करिव ४ वर्ष पूर्णरूपमा ठप्प थियो ।

सोमबारदेखि आयात निर्यात दुबैतर्फ सञ्चालनमा आएपनि मानव आवतजावत प्रतिवन्ध नै रहेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको बताए । उनले सोमबार तोतोपानी नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताए ।

उनले सोमबार करिव ३७ लाख रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको बताए । उनले तातोपानी नाकादेखि काठमाडौंसम्म सडक मार्ग निर्माणका सरकारले प्रथामिकतामा राखेको जानकारी दिए ।

त्यस्तै, नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुशी लागेको बताए । उनले तातोपानी नाका अब पूर्णरुपमा सञ्चालनमा आउने आशावादी भएको बताए । उनले सरकारले नेपाली सामान निर्यातको लागि कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए ।

त्यस्तै,व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको बताए । उनले भन्सार नाका दुईतर्फ सञ्चालनमा आएसँगै निर्यात बढ्ने आशा रहेको बताए । उनले यो भन्दा पहिला बिस्कुट, सलाई, मैदा, कस्मेटिक सामान जस्ता सामानहरुको माग भइरहेको बताए ।

त्यस्तै, अर्का निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानाी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रुपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताए । उनले नाकाको दुबै तर्फका संरचना राम्रो बनको भन्दै दुबैतर्फका सावारी साधान सञ्चालनमा समेत सहजता रहेको बताए ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमवारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुल्ला भएको हो ।

भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा समय समयमा अवरोध हुँदा करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र हुँदा साना र मझौला व्यापारीहरुलाई ठूलो समस्या पर्ने गरेका थियो । नाका दुबैतर्फ सञ्चालनमा आएसँगै नेपाल–चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ ।


क्लिकमान्डु