राजश्व बढ्दै छ, विदेशी मुद्राको सञ्चिति उत्साहप्रद छ, ब्याजदर अझै घटाउँछौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । राजश्व बढ्न थालेको, विदेशी मुद्राको सञ्चिति उत्साहप्रद भएको र घट्दो क्रममा रहेको बैंकको ब्याजदर अझै घटाउने भन्दै अर्थतन्त्र सुधारतर्फ गएको प्रधानमन्त्री दाहालले तर्क गरे ।

निजी क्षेत्रको सहयोगबिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने उनको भनाइ छ । सोमबार चितवनमा मौलाकाली केवलकार उद्घाटन समारोहमा बोल्दै उनले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताए ।

उनले भने ‘मैले यो पटक अलि बढी जोड दिएको कुरा भनेको निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिनै सक्दैन । हामीले अहिले अलिबढी जोड दिएका छौँ, उत्पादन वृद्धि गर्ने कुरालाई । रोजगारी सृष्टि गर्ने कुरालाई । यो उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरा आजको युगमा सरकारले पूरा गर्नसक्ने कुरा मुख्य रुपमा होइन । निजी क्षेत्रले मात्रै उत्पादन वृद्धिको र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ र त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ ।

राज्यले त्यसको निम्ति आवश्यक पर्ने ऐन, कानूनहरुको व्यवस्था गर्ने, अन्य भौतिक पूर्वाधारका विकास गर्ने, शिक्षा, स्वास्थ्यमा लगानी बढाउने र त्यतापट्टीबाट स्वस्थ जनशक्ति निर्माण गर्ने जस्ता आधारभुत कुरामा राज्यले प्राथमिकता दिने र उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा निजी क्षेत्रले प्राथमिकता दिने र उचित सहकार्य भयो भने मात्रै विकासले गति लिने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले मौलाकाली जस्ता नेपालमा तराई, मधेसदेखि पहाड, हिमालसम्म हजारौँ ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु भएको र जसको कयौँको अझै उत्खनन् हुन, तिनलाई स्थापित गर्न बाँकी रहेको पनि बताए ।

प्रधानमन्त्री दाहालले राजनीतिमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति देखापरेको बताए । उनले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जघाउनेभन्दा सबैतिर अध्यारो देखाउने प्रवृत्ति बढेको भन्दै यो विषय गम्भिर र घातक भएको बताए । उनले राजस्व बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति पनि उत्साहप्रद रहेको उल्लेख गर्दै बैंकको ब्याजदर पनि घटाउन जोडबल गरिरहेको बताए ।

दाहालले भने– ‘हामीले जनतामा निराशा र हतासा बाँड्ने काम बरु रोकिदिनु पर्छ । मैले यो कुरा खालि शाब्दिक रुपले मात्रै भनेको होइन, मेहनत गरेपछि हुनसक्छ भन्नेकुरा ईपासपोर्टदेखि लाइसेन्समा लाइन डरलाग्दो थियो अहिले लाइनको समस्या छैन । विद्यालयमा पुस्तक नपुगेर दश वर्षसम्म हाम्रो के हालत थियो अहिले विद्यार्थी भर्ना हुनुभन्दा अगाडी नै पुस्तक पुग्यो विकटभन्दा विकट जिल्लामा । विदेशमा गएका लाखौँ नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरियो र लाखौँ युवाहरुले अब त्यसबाट लाभान्वित हुँदैछन् । रेमिट्यान्स बढ्दो क्रममा छ गएको चार महिनामा हे¥यो भने त्यो बढ्दैछ । अझ बढाउने तयारीमा छौँ । राजश्व बढ्दै छ । अझ बढाउने तयारीमा छौँ । विदेशी मुद्राको सञ्चिति उत्साहप्रद छ । हामी त्यसलाई अझ सन्तुलनमा ल्याउने जोड गर्दैछौँ । बैंक ब्याजदर घट्दो क्रममा छ । यही महिना अझै घटाउनेतिर हाम्रो जोडबल छ, यही महिनाको अन्त्यसम्म । यी भएका राम्रा कामहरुलाई राम्रो भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट गर्न नसक्ने भयो भने विकास भन्नेकुरा मुस्किल र चुनौतिपूर्ण कुरा हुन्छ । आजभोलि राजनीतिमा आत्मविश्वास, प्रेरणा जघाउने, आशा जघाउने, सकारात्मक पहल गर्नेभन्दा जतासुकै अँध्यारो देखाउने, सब अँध्यारो । सब उस्तै हुन् भनेर भन्ने एउटा प्रवृत्ति अराजक प्रवृत्ति देखापर्न खोजेको छ । हामी सबैको निम्ति त्यो बडो गम्भिर र घातक हुनसक्छ । यसमा हामी सबै सजग हुन जरुरी छ ।’


क्लिकमान्डु