बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्नेलाई मुद्दा हाल्ने




काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने विरुद्ध मुद्दा हाल्ने भएको छ । बैशाख १४ गते बसेको परिसंघको १४औं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरू गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरूका विरुद्ध अनिवार्यरूपमा मुद्दा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरूको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न सक्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले बैंक तथा वित्तीय संस्था विरुद्ध गतिविधि गर्नेलाई जस्तोसुकै कठोर कदम चाल्न पनि परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्णरूपमा एकताबद्ध प्रतिबद्ध र दृढ संकल्पित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने काम नगर्न समेत अनुरोध गरेको छ ।


क्लिकमान्डु