अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय हो: ओली



पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन् । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे ।

‘देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ’ अध्यक्ष ओलीले भने ।

नेकपा ९एमाले० पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए ।

‘अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ’ ओलीले भने, ‘ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।’

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उनले जोड दिए ।

‘अब लोगो झुन्ड्याएर, सङ्गठनमा बसेरमात्रै हुँदैन । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै सङ्गठनलाई चुस्तदुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ” उनले भने, ‘यो सबै काम पार्टी सङ्गठन बनाउन, चुनाव जित्नका लागि होइन । यो देशलाई ठीक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।’

अध्यक्ष ओलीले श्रमलाई घृणा नगर्न र सबै प्रकारका श्रममा जोडिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उत्पादनलाई विशेष जोड दिई उत्पादन हुनसक्ने खाद्यवस्तुमा आत्मनिर्भर बनेर उदाहरणीय बन्न पार्टी सदस्यलाई सुझाव दिए । गरिबी, पूर्वाधारको अभावजस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको उनले स्मरण गरे ।

प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पारे ।

‘विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्’ ओलीले भने, ‘मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।’


क्लिकमान्डु