छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका



चितवन । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ ।

यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन् । स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्को एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन् । उनले भने, “यसले चितवनको पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ । त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ ।”

केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्नसक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ । नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाँहिनेतर्फ दुई किलोमिटरमा मन्दिरको फेदीको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ ।

मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ । केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गैँडाकोटमा केबलकार सञ्चालनमा आउँदै गर्दा यसको प्रत्यक्ष लाभ भरतपुरले प्राप्त गर्ने बताउँछन् । यसले भरतपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

उनले भने, “मौलाकालिकामा केबलकार चल्दै गर्दा यहाँ पर्यटकको बसाई लम्बिने छ । यसका साथै चितवनमा अर्को एक पर्यटकीय पूर्वाधार थपिएकामा हामी खुसी छौँ ।”

पछिल्लो समय सो केबलकारसँगै प्याराग्लाइडिङसमेत सुरु भएको भन्दै उनले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले समयमा यी गन्तव्य महत्वपूर्ण हुने बताए । यसले भरतपुर क्षेत्रको आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्ने उनको विश्वास छ ।


क्लिकमान्डु