बुध्द एयरले नयाँ जहाज ल्यायो, जहाज संख्या १५ पुग्यो



काठमाडौं । उड्डयन क्षेत्रमा नेपालको सबैभन्दा ठूलो निजी विमान सेवा कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर–७२ जहाज भित्र्याएको हो ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याएको हो कम्पनीले जनाएको छ ।

यससँगै बुद्ध एयरका जहाज संख्या १५ पुगेको छ । तीमध्ये १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।

नेपाली यात्रुका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ । सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएकाले यात्रुले समयअनुकूल उडान भर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

बुध्द एयरले जुन १५ मा अर्को नयाँ जहाज थप्ने भएको छ । धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना रहेको बजार निर्देशक रूपेश जोशीले बताए । हाल धनगढी तथा सुर्खेतमा दैनिक दुईवटा उडान भइरहेको छ । यसैगरी संखुवासभाको तुम्लिङटारमा एटआर–७२ जहाजबाट उडान भर्ने पनि कम्पनीको योजना छ ।

बुद्धले पोखराबाट पनि देशका विभिन्न गन्तव्यमा सीधा उडान भरिरहेको छ । हाल पोखराबाट नेपालगन्ज, भैरहवा र भरतपुरमा सीधा उडान गरिरहेको छ ।

केही दिनभित्रै भद्रपुर र विराटनगरबाट पोखरा उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ ।


क्लिकमान्डु