बिमा दाबी भुक्तानीमा सुधार आएको छ: सिलवाल



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको प्रयासबाट बिमा दाबी भुक्तानीमा सुधार आएको बताएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बिमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताउँदै प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आएको बताएका हुन् ।

गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी भएको जानकारी दिए । उनले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गनुपर्ने र अस्वस्थ प्रतिस्पर्धा नगरि स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नु पर्ने बताए ।

अध्यक्ष सिलवालले बिमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बिमाको आवश्यकता परेका व्यक्तिले बिमा गर्न नपाएकाले लघुबिमा कम्पनीहरु संचालनमा आएको प्रस्ट पारे ।

पुँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाप्रतिको विश्वास बढ्ने गरी बिमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफलरुपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताईन् ।


क्लिकमान्डु