नयाँ पुस्ताका पनि संसदमा आएका छन्, राजनीतिको नाममा लाजनीति नचलोस्: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन् ।

शुक्रबारको बैठकमा सभामुखले लामो समय बैठकमा उपस्थित नभएका सांसदहरु बारेको सूचनामा कोइरी बिरामी भन्ने वाचन गरेपछि कांग्रेससहितका दलहरुले बिरोध गरेका थिए ।
त्यसक्रममा लामिछानेले पनि उनी फरार अभियुक्त भएको बताए ।

विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।

‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,’ लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए । उनको तस्वीर छ, सम्बन्धित निकाय ।’

लामिछानेले फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही नहुने बताए ।

‘यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘नयाँ पुस्ताका राजनीतिज्ञ पनि संसदमा आएका छन् यो राजनीतिको नाममा लाजनीति संसदमा नचलोस् । बिरामीको संज्ञा दिएर भद्दा मजाक नगरियोस् ।’


क्लिकमान्डु