संसदमा एमाले उपाध्यक्षको प्रश्न: अध्यक्ष ओलीमाथि आक्रमण हुँदा सरकार किन मौन



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकारले मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उपाध्यक्ष पौडेलले बिहीबार (हिजो) इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकीर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे ।

अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न उनले माग गरे ।

‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रर्दशन गर्दै तोडफोड गर्ने काम भईरहेको छ’ उनले भने, ‘हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अर्कमण्यता प्रर्दशन गरिरहेको छ । एक प्रकारले भन्ने हो लाचारीपन प्रर्दर्शित गरिरहेको छ ।’


क्लिकमान्डु