फ्रान्स उडेका विद्यार्थीलाई मन्त्रीले भने-पर्यटन विश्वविद्यालय खोलिँदै छ राम्रो अध्ययन गरेर आउनुस्



काठमाडौं । इन्टर्नशिपका लागि फ्रान्स गएका विद्यार्थीहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विहीबार बिदाइ गरेका छन् ।

होटल व्यवस्थापन विषय अध्ययनरत २४ विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किरातीले विदाइ गरेका हुन् ।

त्यसक्रममा छोटो सम्बोधन गरेका मन्त्री किरातीले, ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदैछ तपाईं हरुको आवश्यकता त्यहाँ पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईंहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जाँदै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत त्यहाँ छाडेर आउनुहुने छ ।’

होटल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरुले फ्रान्सको १ सय ३० बर्ष पुरानो सेभोलेमा पर्यटन विश्वाविद्यालयमा एक वर्ष इन्टर्नशिप गर्ने छन् । त्यस्तै फ्रान्सका विद्यार्थीहरुले नाथममा इन्टर्नशिप गर्ने छन् ।

फ्रान्सका विद्यार्थीहरु शुक्रबार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जनाए । होटल तथा पर्यटन सम्बन्धि अध्ययन र तालिम दिँदै आएको नाथमलाई पर्यटन विश्वविद्यालय बनाउन पछिल्लो समय मन्त्री किराती लागि परेका हुन् ।


क्लिकमान्डु