भारतमा उपचाररत राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख, विवादमा पार्ने गरि समाचार आएकोमा आपत्ति



काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको भारत नयाँ दिल्लीस्थित् अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी छ । पौडेलको स्वास्थ्यसम्बन्धी केहि परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरूले बताएको सचिवालयले जनाएको छ ।

छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिमको उपचार पद्दति कानून, नियम र निश्चित विधिअनुसार हुने स्पष्ट हुँदा हुँदै पनि राष्ट्रपति संस्थालाई नै विवाद पार्ने मनसायले केहि संचार माध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचना र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट छ । तर, ऐन कानून नै नबुझेजस्तो गरी सम्माननीय राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति सचिवालयले दुख व्यक्त गरेको छ ।


क्लिकमान्डु