बारा-२ बाट जसपा अध्यक्ष यादव निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यस्तै नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले ११९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाए ।

बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।

बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित भएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरे ।


क्लिकमान्डु