पोखरादेखि चीनका विभिन्न सहरमा सीधा हवाई उडान गराउन राजदूतसँग आग्रह



कास्की । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेटेर पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेका हुन् ।

भेटमा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको जानकारी गराए ।


क्लिकमान्डु