निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन अघि बढाइएको विधेयकविरुद्ध संशोधन प्रस्ताव दर्ता



निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन अघि बढाइएको विधेयकविरुद्ध सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

निजी क्षेत्रमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउनेगरी कानुन संसोधन गर्न लागिएपछि सांसदहरु विपक्षमा उभिएका हुन् ।

कांग्रेस सांसद आरजु राणा, रामहरि खतिवडा, श्याम घिमिरे, एमालेका प्रेमलाल महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायतले राष्ट्रिय सभाले पारित गरेको विधेयकको उक्त व्यवस्था हटाउन संशोधन दर्ता गराएका छन् ।

व्यवसायीका छाता संगठनहरुले निजी क्षेत्रको नियमन गर्ने सम्बन्धित निकाय हुँदाहुँदै थप अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायी हतोत्साही हुने बताउँदै आएका छन् ।

चैत २८ गते राष्ट्रिय सभाबाट बैंक, मेडिकल कलेज, अस्पताललगायतका निजी क्षेत्रमाथि अख्तियारले अनुसन्धान गर्न पाउने गरी दुईवटा विधेयक पारित भएको थियो ।

उद्योगी व्यवसायीका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, सीएनआई, सिबिफिनलगायतले विरोध जनाउँदै आएका छन् ।


क्लिकमान्डु