यमनमा सहयोग वितरण स्थलमा भागदौड, ८५ जनाको मृत्यु



एजेन्सी । युद्धग्रस्त यमनमा बिहीबार आयोजित एक च्यारिटी वितरण कार्यक्रममा भएको झडपमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा सयौँ घाइते भएका छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यको प्रतीकका रुपमा मनाइने इद अल-फित्रको केही दिनअघि अरब प्रायद्वीपको सबैभन्दा गरिब देशमा पछिल्लो दुर्घटना भएको हो ।

हुथीका एक सुरक्षा अधिकारीका अनुसार राजधानी यमनको बाब अल-यमन जिल्लामा भएको भागदौडमा परी ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् ।

हुथीको नियन्त्रणमा रहेको सानास्थित एएफपीका एक संवाददाताका अनुसार यो घटना एक विद्यालयभित्र भएको हो, जहाँ सहायता वितरण भइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार गरिबीको चपेटामा परेको यस देशमा सयौं मानिस खाद्यान्न लगायतका आधारभूत समग्रीको सहयोग लिन भेला भएका थिए ।

हुथी विद्रोहीको अल मसिराह टिभी च्यानलले प्रसारण गरेको एक भिडियोमा शवहरूलाई एकसाथ पोको पारिएको देखिएको छ । मानिसहरू उक्त स्थानमा एक-अर्कामाथि चढेर आफ्नो बाटो बनाउने प्रयास गरिरहेका छन् ।

हुथीका एक सुरक्षा अधिकारीले घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानालाई कब्जामा लिएपछि द्वन्द्व सुरु भएको थियो, जसका कारण साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्न अर्को वर्ष हस्तक्षेप गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार हुथी नियन्त्रित क्षेत्रका सरकारी कर्मचारीसहित दुई तिहाइभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष दुई करोड १७ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।


क्लिकमान्डु