स्वर्णिम वाग्लेप्रति विश्वप्रकाशको कटाक्षः कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुले



तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए।

‘कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,’ कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँमा सांसदका उम्मेद्वार रहेका डा. स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए ।

“एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,” उनले भने ।

महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमान्नुभएको चर्चा गर्दै भने, “उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।”

महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पु¥याएर उहाँमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।

भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उनले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे।


क्लिकमान्डु