पुरानै अवस्थामा कित्ताकाट खुलाएको भन्दै संसदमा विरोध



काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेपछि संसदमा त्यसको बिरोध भएको छ ।

भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते प्लटिङ गर्न स्वीकृति लिएको र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । मंगलबारको मन्त्रिपरिषदको बैठकले भूमि मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

तर, संसदमा भने त्यसको बिरोध भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेश विपरित भएको बताएकी छन् । यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने उनको भनाइ थियो । यो निर्णयले जमिनको दलालीकरण बढाउने पनि उनले बताइन् ।

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनको खण्डिकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सिमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढाउँछ । त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।

कित्ताकाट खोल्ने निर्णय सच्याउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।


क्लिकमान्डु