बजारमा ४० देखि ८० प्रतिशत माग घट्यो, उधारो उठ्न छाड्योः विष्णु अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।
सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताए । उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए ।
उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताए । उनले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे । उनले व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकि रहेको उल्लेख गरे ।
अग्रवालको भनाइ जस्ताको त्यस्तै
अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् । परिसंघको सर्वेमा बजारको मागमा संकुचन आएको छ । मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ । परिसंघले सरकार र नागरिकहरुलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ ।