अर्थ मन्त्रालयको सल्लाहकारमा पौडेल र पाण्डेको चर्चा, तलब सुविधा नलिनेगरी नियुक्ति दिने तयारी



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालयको सल्लाहाकार नियुक्त गर्ने तयारी गरेका छन् ।

मन्त्री महतले बजेट निर्माणमा सहयोग लिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल र योजना आयोगका पूर्व सदस्य तथा साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेलाई आर्थिक सल्लाहाकार नियुक्त गर्ने तयारी गरेका छन् ।

मन्त्री महतले नियुक्त गर्न लागेका दुबै सल्लाहाकारले पारिश्रमिक नलिने अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘मन्त्रीज्यूले दुई जनालाई अवैतनिक रुपमा अर्थ मन्त्रालयको सल्लाहकार नियुक्त गर्ने गरि प्रस्ताव तयार गर्न भन्नु भएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,‘अब बस्ने मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई नियुक्त गर्छ होला ।’

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साउनमा पौडेल योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट कृषि अर्थशास्त्रमा विद्यावारिधी उपाधि प्राप्त गरेका छन्।

पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को नेपाल कार्यालयमा आर्थिक सल्लाहकारको रुपमा काम गरेको थिए । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा प्राध्यापन समेत गर्छन् । नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पौडेललाई चितवन-३ बाट उम्मेदवार बनाएको थियो ।

तर, पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।

नेपाललाई विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनाउने पक्षमा वार्ता गरेका पाण्डेले बहुपक्षीय व्यापार एकीकरण र क्षमता अभिवृद्धिका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)मा रहेर काम गरेका छन् ।

उनले अर्थशास्त्रमा विद्यावारिधी र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर छन् । आधा दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागमा रहेर अध्यापन गराएका थिए ।


क्लिकमान्डु