उमेशलालको भावुक भाषण: महामूर्ख रहेछु म !



६/७ महिनादेखि हामी चुनावमा होमिएका थियौं । लड्दै भीड्दै, अनेक ठक्कर खाँदै र मुठभेड गर्दै आज यो स्थानमा आइपुगेका छौं । करिब ०.५ का कारण र मेरा वस्तुगतका साथीहरुले गर्दा मैले दोस्रो स्थान हासिल गरेँ । त्यसपछि पूर्वअध्यक्षहरुले पहल थाल्नुभयो । र, आज मैले अञ्जन श्रेष्ठलाई समर्थन गरेँ ।

रामचन्द्र संघाईजी भाषण पढ्दै हुनुहुन्थ्यो त्यतिबेला म महासंघमा भाषण दिएर भोट बढ्छ कि भनेर हात मिलाएर आधा घण्टाजति बसें । बाहिर आएर सेलिब्रेटी जस्तो सेल्फी लिएँ । मैले ५० जनाजति अध्यक्षसँग भेटें । उहाँहरुले दाजू आजको भाषणले हजुरको १० भोट बढ्यो भने । मैले सोचे ५० छदै थियो, अब बढेर ६० भयो । महामूर्ख रहेछु म । मेरो भोट आयो २८ आयो । किन मेरो भोट २८ आयो ठूलो कुरा होइन ।

महासंघको चुनावी प्रकृयामा हिजो ४ घण्टा जिल्लाका साथीहरु भोट हाल्न आउनु भएन । जब आउनुभयो ग्वार्ग्वार्ती आउनु भयो एकैपटक । मैले कसैलाई शंका गर्दिन ।

२८ जना अध्यक्षले मलाई भोट दिनु भएको रहेछ, बस्तुगतमा ६९ र ४२६ एसोसिएटका साथीहरुले भोट दिनु भएको रहेछ उहाँहरुलाई हार्दिक हार्दिक नमन । भोट नदिनु भएका साथीहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।

मलाई दुख छैन हेर्नुस् । मैले अन्जानलाई समर्थन गरे । जावन त छदैँ छ अन्जन, उसले काम गर्न सक्छ ।

अन्जनसँग मेरा केही शर्तहरु थिए । त्यो कुरा गर्दा वरिष्ठ उपाध्यक्ष पनि सँगै हुनुहुन्थ्यो ।

महासंघको निर्वाचन प्रकृया औधी फोहोरी भयो । म यसलाई थप फोहोरी बनाउन चाहन्न । करोडौंको चलखेल नहोस् भनेर मैले छाडें । नभए मैले र अन्जनले पनि ४/५ करोड फाल्थ्यौं । म सिधा भन्छु यसमा मलाई शरम र लाज छैन । शरम मान्नु पर्ने आवश्यक छैन ।

६० जनासँग अंकमाल हालेर १० भोट बढ्छ भन्दा म ६० पुग्यो ७० पुग्यो भनेर बसें । भरे भोट आउँदा २८ । यो सिस्टममा खराबी छ । दिस सिस्टम इज रङ । यो विधानलाई संशोधन होइन पुनर्लेखन गर्नु पर्छ । मेरो एउटै मात्र शर्त ।

उहाँले पद-सदको पनि कुरा गर्नुभयो । मेरो महासंघ हो आउँदा-जाँदा कसैले रोक्न सक्दैन । नमरुन्जेल छाड्दिन, पद चाहिएन।
दिनुभयो भने सहर्ष स्वीकार, नदिए नो प्रोब्लम ।

पहिला पनि यस्तो सम्झौताहरु भएको होला तर चुनावको प्रकृयाको बीचमा यस्तो सम्झौता भएको छैन । मान्छेले मलाई त्यागी भन्लान् पहेलो बस्त्र लगाउन लागेको होइन ।

कुनै पनि बेला महासंघलाई मेरो आवश्यकता भयो भने म तपाईंहरुलाई साथ दिने छु । यो सम्झौताले आगामी दिनमा महासंघलाई सहमतिको ढोका खोल्न सहयोग गरेको छ । मैले ५/६ वटा चुनाव हेरें । बडा कठिन छ । सदस्यमा त रमाइलो छ । त्यहाँ खेला(पैसाको खेला) हुँदैन । अलिक माथि आयो अलिक खेला, झन् माथि आयो झन् खेला । हामीले के गर्न लागेको ?

हामीले यस्तो आचरण लिएर राजनीतिज्ञलाई गाली गर्न मिल्छ । हामी राजनीतिज्ञभन्दा एक तह खसेका छौं । महासंघको प्रतिनिधित्व गर्ने अध्यक्षतपाईंहरु जिल्ला नगरका अध्यक्षहरु मान मर्यादा राख्न सिक्नुस् ।

एउटा कुरा तपाईंहरुले कम्प्लेन गर्नुहुन्छ फोन उठ्दैन भनेर । किन उठाउने फोन? अध्यक्ष, वरिष्ठज्यूले बाँकी सबै कुरा भएपछि मैले फोन उठाउनु पर्छ । छातिमा हात राखेर तपाईंहरु महासंघको विधान रिराइट नभएसम्म वा हामीले जबसम्म स्वच्छताको परिचय दिँदैनौं तबसम्म सरकारसँग हामीले लप्पा खाने ? हामी भन्छौं क्रोनि क्यापिटालिजम आयो भनेर हामीले जिल्लाकालाई के जवाफ दिने ?

जितेको मान्छेले भाषण दिएको जस्तो भयो !

मलाई रुन आउँदैन । उ(अन्जन) सँग गला मिलाउँदा अलिक भारी भएको थियो । नबोलौं नबोलौं जस्तो लागेको थियो तर बोलें ।
अन्जनले जित्दा केही समस्या छैन । म कुशजीलाई धन्यवाद दिन चाहन्छु उहाँले, अध्यक्षज्यू, वरिष्ठ उपाध्यक्षज्यू र मेरा मित्रहरुले सहयोग गर्नुभयो उहाँहरुलाई धन्यवाद ।

भोलि बिदाभयो बिदा मनाउनुस् । म त आजै रातदेखि मनाउन सुरु गर्छु कि ? तर, २०८० सालको वैशाख २ गतेदेखि एक भएको महासंघ देखाउनुस् । टिंगोटांगो महासंघ नदेखाउनुस् ।

एउटा उपाध्यक्षले बोल्दै छ, महासंघले त्यसको विरुद्धमा प्रतिक्रया देखाउँदै छ । एउटा उपाध्यक्षले बोल्दै छ, महासंघले त्यसको विरुद्धमा प्रतिक्रया देखाउँदै छ । हाँसको चाल न कुखुराको चाल नदेखाउनुस् । तपाईंहरु पदाधिकारीको एकमत होस् त्यहाँ । पदाधिकारी चारतिर फर्किएपछि हामीले के आश गर्ने ? महासंघको पदाधिकारी ७ जनाको कुरा मिल्दैन भने जिल्ला/नगर, बस्तुगत कसरी सम्हाल्नु हुन्छ ?

महासंघको सदस्यता दिने ठूलो कुरा हो । कसैलाई पेच नलागोस् । हामीले सदस्यता दिल ठूलो गरेर बाँडेको हो । त्यति सारो दिल पनि हुन हुँदैन ।

यो कसैप्रतिको आक्षेप होइन । महासंघलाई एकैदिन एसोसिएटको ५११ सदस्य । आयो आम्दानी १ करोड चानचुन । हाम्रो आवश्यकता होला, तर एक दिनमा १ घण्टाको बैठकमा ५११ एसोसिएट र १२ वटा वस्तुगत सदस्यता वितरण ? यसलाई तपाईंहरुले कसरी हेर्नु भएको थियो । हामी नेवारको घरमा जन्मदिनमा पहिला पहिला दही चिउरा, फलफूल, पैसा केटाकेटीलाई रोडमा राखेर बाँड्थे, महासंघको सदस्य भनेको दही चिउरा होइन, यसरी बाँड्न मिल्दैन । १७४८ वटा चिजको जाँच हुनुपर्छ ।

जाँदै गर्दा मैले जे बोले पनि हुन्छ । मैले चुनाव लड्नु छैन भोट माग्नु छैन ! त्यही भएर मैले खुला रुपमा भनेको छु-महासंघलाई सुधार गर्नुस् ।

नयाँ अध्यक्ष चन्द्र ढकाललाई अनुरोध गर्न चाहन्छु, वैशाख २ गतेदेखि महासंघमा सुधार ल्याउनुस्, अन्जनलाई पनि बधाई र शुभकामना !!

(नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले दोस्रो चरणमा अर्का प्रत्यासी अन्जन श्रेष्ठलाई समर्थन जनाउँदै गरेको भाषण)


क्लिकमान्डु