भित्री कारोबार गर्ने अनिल रुंगटालाई किन जोगाउन खोज्दै छ धितोपत्र बोर्ड ?



काठमाडौं । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले कानुनविपरीत सेयर बिक्री गरेको तथ्य सार्वजनिक भइसक्दा पनि नियामक निकाय धितोपत्र बोर्ड मौन देखिएको छ । बोर्डका अध्यक्ष रमेश हमाल रुंगटाले कानुनविपरीत भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको सम्बन्धी उजुरी कुरेर बसेका छन् ।

रुंगटाले धितोपत्रसम्बन्धी कानुनविपरीत २०७८ वैशाख २९ देखि २०७८ असोज १३ सम्म २१ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर २ अर्ब १७ करोड ४७ लाख रुपैयाँमा बेचेको तथ्य सार्वजनिक भइसकेको छ । करिब ५ महिनाको अवधिमा ५५ कारोबार दिनमा उक्त रकमको सेयर बिक्री गरिएको हो । तर, बोर्डका उच्चपदस्थ अधिकारी रुंगटालाई कसरी जोगाउने भनेर दाउ हेरिरहेका छन् ।

अहिले केही शक्ति रुंगटालाई कानुनी कारबाहीबाट जोगाउन कम्मर कसेर लागिपरेको धितोपत्र बोर्डकै एक उच्च अधिकारीले बताउँछन् । शक्तिकेन्द्रको आडमा राधी विद्युत् कम्पनीसम्बद्ध केही व्यक्ति बोर्डका उच्चपदमा रहेका व्यक्तिलाई मिलाउन र कारबाही हुनबाट जोगाउन भन्दै हिँडेका छन् ।

धितोपत्र बोर्डभित्रै पनि केही व्यक्ति रुंगटालाई जोगाउन लागिपरेका छन् भने केही उनले गरेको कारोबारको अनुसन्धान गरेर कमजोरी देखिए कानुनी कारबाही गर्नुपर्ने बताउँछन् ।

‘रुंगटाले कानुनविपरीत सेयर बिक्री गरेको विषयमा बोर्डले पनि अनुसन्धान गरेको थियो । भीष्म सरलाई सरकारले निलम्बन गरेपछि कामु कार्यालय प्रमुख निरज गिरी हुनुहुन्थ्यो,’ बोर्डका एक उच्च कर्मचारीले भने, ‘गिरीलाई बोर्डको सम्बन्धित विभागले भित्री कारोबार भएको प्रमाणसहित अध्ययन प्रतिवेदन पनि बुझाएको थियो तर कारबाही भएन, अहिले त्यो प्रतिवेदन नै गायब छ।’

यस्तो गम्भीर विषयमा तत्काल समिति गठन गरेर अनुसन्धान थाल्नुपर्नेमा अध्यक्ष हमाल उजुरी नै कुरेर बसिरहनुले शंकाको सुविधा दिएको ती कर्मचारीको भनाइ छ । हमालले क्लिकमान्डुसँग पनि बोर्डमा कसैले उजुरी गरेपछि मात्रै अनुुसन्धान अघिबढ्ने बताएका छन् ।

राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष रुंगटाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ को दफा ३८ को १ (क) मा भएको व्यवस्थाविपरीत सेयर बिक्री गरेका छन् । रुंगटा राधी विद्युत् कम्पनीको अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बेचेको हो ।

राधीका तत्कालीन अध्यक्ष रुंगटाको लगानी रहेको मुख्य कम्पनी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हो । यो कम्पनी नेप्सेमा लगानी समूहमा सूचीकृत छ । मुख्य कम्पनी सीईडीबी हाइड्रोपावर हो ।

सीईडीबीको शतप्रतिशत लगानी गण्डकी इनर्जी लिमिटेडमा छ भने लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा ८४.१९ प्रतिशत सेयर स्वामित्व छ । उक्त कम्पनीको ४७.२६ प्रतिशत सेयर स्वामित्व राधी विद्युत कम्पनीमा छ ।

तत्कालीन समयमा यी चारवटै कम्पनीको अध्यक्ष रुंगटा नै थिए । चारमध्ये सीईडीबी हाइड्रोपावर र राधी नेप्सेमा सूचीकृत छन् । अहिले रुंगटा सीईडीबीमा मात्रै अध्यक्ष छन् । उनी उक्त पाँच महिनाको अवधिमा लमजुङ इलेक्ट्रिसिटी कम्पनीले राधीमा गरेको लगानी बिक्री गरेर निस्किएका हुन् । उनले आफूसँग भएको संस्थापक सेयर बिक्री गरेर कम्पनी छोडेका हुन् ।

रुंगटाले राधी विद्युत् कम्पनीबाट २०७८ असार ७ गते राजीनामा दिएका थिए । कम्पनीका अनुसार २०७७ भदौ २५ देखि लागू हुनेगरी सञ्चालक रुंगटालाई अध्यक्ष नियुक्त गरिएको थियो । रुंगटा करिब १० महिनामात्रै कम्पनीको अध्यक्षका रुपमा रहे ।

उनी अध्यक्ष भएको समयमा साढे ८७ करोड र अध्यक्षबाट राजीनामा दिएपछि १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको छ । प्राप्त विवरणअनुसार रुंगटाले २०, २८, ३२, ३३, ४३ र ५६ नम्बर ब्रोकरबाट सेयर बिक्री गरेका हुन् ।

धितोपत्र बोर्डले आफैंले २०७८ असार असार १ गते इन्साइडर ट्रेडिङ, कर्नरिङ भयो भनेर निकालेका ५१ वटा कम्पनीको सूचीमा राधी विद्युत् कम्पनी पनि छ ।

‘रुंगटाले वैशाखदेखि असोजसम्म भित्री कारोबार गर्नु र बोर्डले असार १ गते निकालेको ५१ कम्पनीमा राधीको नाम हुनुले पनि भित्री कारोबार भएको प्रमाणित गर्छ,’ बोर्डका एक उच्च कर्मचारीले भने, ‘पहिला पनि तपाईंहरुले समाचार लेख्नुभयो, पछि नेप्से र बोर्डमा पनि उजुरी पर्‍यो तर केही भएन ।’

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ३८ को १ (क) मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन’ भन्ने उल्लेख छ ।


क्लिकमान्डु