बीमा मध्यस्थकर्ताको इजाजत अवधि तीन वर्ष



काठमाडौं । बीमा मध्यस्थकर्ता (अभिकर्ता तथा सर्भेयर) को इजाजत पत्र तीन वर्षसम्म नवीकरण गर्नु नपर्ने भएको छ । बीमा ऐन, २०७९ ले इजाजतपत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने उल्लेख गरेको हो ।

ऐन लागू भएको मितिपश्चात जारी भएका इजाजत पत्रको अवधि जारी भएको मितिले तीन वर्षको हुने व्यवस्थाबमोजिम हाललाई ती इजाजतपत्र नवीकरण गर्नु नपर्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ । बीमा ऐन कात्तिक २२ देखि लागू भएको हो ।

यसअघि बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजत पत्रको अवधि एक वर्षको हुने व्यवस्था थियो । बीमा प्राधिकरणले प्राधिकरणबाट जारी भएका बीमा अभिकर्ता र बीमा सर्भेयरको इजाजतपत्र नवीकरण अनलाइन माध्यमबाट नवीकरण शुल्क भुक्तानी गरी गर्न सकिने व्यवस्थासमेत मिलाएको छ । प्राधिकरणले अनलाइन सुविधाको व्यवस्था चैत ६ देखि गरेको हो ।


क्लिकमान्डु