किन ‘निलो चरा’बाट फेरिएर ‘सुनौलो कुकुर’ बन्यो ट्विटरको लोगो ?



एजेन्सी । ‘ह्वाट्स ह्यापनिङ’ अर्थात ‘के भइरहेको छ ?’

ट्विटरको होमपेजमा सधैं देखिने यो प्रश्नको जवाफ हुन सक्छ– धेरै कुरा भइरहेका छन् । यस्तो जवाफ हुनुको कारण ट्विटर दैनिक परिवर्तन भइरहनु पनि हो । एलन मस्कले ट्विटर खरिद गरेपश्चात यो सामाजिक सञ्जालको माध्यम निरन्तर परिवर्तन भइरहेको छ ।

यसैबीच ट्विटरमा नयाँ परिवर्तन पनि देखिएको छ । ट्विटरको डेक्सटप भर्जनमा अहिले पहिलेको ट्विटरको लोगो देखिदैंन, बरु एउटा कुकुरको तस्बिर देखिन्छ । ट्विटरको लोगो उडिरहेको निलो चराबाट परिवर्तन गरेर एउटा सुनौलो रंगको कुकुर राखिएको छ । यो विशेषता अहिले डेक्सटप भर्जनमा मात्रै देख्न सकिन्छ ।

यो कुकुरको लोगोको क्लिक गर्ने हो भने ट्विटरको फिड रिप्रेस हुन्छ । ट्विटर खोल्दा पनि सुरुवातमा पहिले देखिने चराको सट्टा अहिले यहि सुनौलो कुकुरलाई देख्न सकिन्छ ।

यो कुकुर ‘डज’ नामको कुकुर हो, जुन संसारभर नै निकै चर्चित छ । सायद यहि कारण पनि यसलाई अहिले ट्विटरको लोगोको रुपमा राखिएको छ ।

तर, यो कुकुर र ट्विटरबीचको नाता के हो? एलन मस्कले यसलाई किन ट्विटरको लोगो राखे? यो कुकुरको आफ्नै पहिचानको कथा के हो ?

यस्ता थुप्रै प्रश्नहरु पनि ट्विटरमा डजलाई लोगोको रुपमा राखिएपछि आएको छ ।

एलन मस्कले ट्विटरमा आफ्नो पुरानो ट्विटलाई हालै पुनः साझा गरेका छन् । यो ट्विटमा एलनले के नयाँ सामाजिक सञ्जालको माध्यमको आवश्यकता भएको हो भन्ने प्रश्न सोधेका थिए । उक्त ट्विटको जवाफमा एक प्रयोगकर्ताले भनेका थिए, ‘हो, ट्विटर किनेर यसको चरा भएको लोगोलाई परिवर्तन गरेर डजी अर्थात कुकुरको लोगो राखिदिनु ।’

एलनले अहिले यो ट्विटको स्क्रिनसट साझा गर्दै आफूले गरेको बाचा पुरा गरेको बताएका छन् ।

यसअघि एलनले एक मिम पनि साझा गरेका थिए । यो मिममा एक प्रहरीले हातमा एक कार्ड बोकेर बसेका देखिन्छ । उक्त फोटोमा निलो चरा अर्थात ट्विटरको लोगो देखिन्छ । उक्त प्रहरीलाई डज कुकुरले जवाफ दिँदै भनिरहेको हुन्छ– यो पुरानो फोटो हो ।

मिमको सन्दर्भबाट एनलले पुरानो निलो चरा भएको लोगो हटेको र अबको नयाँ लोगो डज कुकुरको हुने सन्देश दिन खोजेका छन् ।

ब्लूमबर्गको रिपोर्टकाअनुसार ट्विटरमा यो कुकुरको तस्बिर लोगोको रुपमा आएपछि यहि कुकुरको तस्बिरलाई लागोको रुपमा प्रयोग गर्ने क्रिप्टोकरेन्सी ‘डजक्वाइन’को सेयरमा ३० प्रतिशतको बृद्धि देखिएको छ । डजक्वाइन दुनियाँकै तेस्रो सबैभन्दा बलियो क्रिप्टोकरेन्सी हो र यसको सम्बन्ध पनि एलनसँग छ ।

डजक्वाइनको लोगोमा पनि अहिले ट्विटरको लोगोमा देखिएको डज कुकुर रहेको छ । डजक्वाइन र एलन मस्कसँग जोडिएको एक मुद्दा अहिले अदालतमा पनि चलिरहेको छ । एलनमाथि यो मुद्दामा २५८ बिलियन अमेरिकी डलरको मुद्दा रहेको छ । यो मुद्दामा एलनले शुक्रबार अदालतलाई यसलाई बन्द गर्न पनि भनेका थिए ।

एलनमाथि डजक्वाइनलाई बृद्धि गराउनका लागि विभिन्न कामहरु गरेको भन्ने लगानीकर्ताहरुको आरोप छ । एलनका वकिलहरुले बताएअनुसार भने यस्तो गर्नुको कुनै प्रभाण नै छैन । तर, डजक्वाइनप्रति एलनको प्रेम भने देखिन्छ । एक समय उनले आफूलाई नै ‘डजफादर’ समेत भनेका थिए ।

सन् २०२१ मा एलनले डोजी–१ नामको स्याटलाइट पनि अन्तरिक्षमा पठाउने बताएका थिए । चन्द्रमासम्म पठाउने यो स्याटलाइटको सम्पूर्ण खर्च डजक्वाइनको माध्यमबाट गरिने पनि उनले बताएका थिए ।

एलनले बताएअनुसार हाल टेस्लासँग पनि कैयौं संख्यामा डजक्वाइन छ । टेस्ला एलनकै विद्युतीय कार निर्माता कम्पनी हो । सँगै मस्कले विगतमा पनि आफूसँग केही डजक्वाइन भएको बताएका छन् । तर, कति मात्रामा भन्ने विषयमा भने उनले खुलाएका छैनन् ।

यही वर्ष १५ फेब्रुअरीमा मस्कले एक कुकुरको तस्बिर साझा गर्दै ट्विटरमा नै लेखेका थिए– ट्विटरको नयाँ सिइओ निकै उत्कृष्ट छन् ।

हाल ट्विटरको लोगोमो देखिएको ‘डज’ वा ‘डोजी’ नामको यो कुकुर चाहिँ के हो त ?

एलनले हालसम्म ट्विटरको लोगोमा यो कुकुरलाई राख्नुको कारणबारे खुलाएका छैनन । तर, पछिल्ला समय मस्कले डजक्वाइनका लगानीकर्ताहरुले उनीमाथि लगाएको मुद्दालाई अन्त्य गर्न माग गरिरहेको कुरा पनि बाहिर खाएको छ ।

यस्तोमा एलनसँग निकट रहेका र उनको स्वाभावबारे जानकार रहेकाहरुले ट्विटरको लोगोमा यो कुकुर राख्नुको कारणबारे आशंका भने गरेका छन् । सँगै यस्तो गर्दा डजक्वाइनको सेयरमा पनि उछाल देखिएको छ । डजक्वाइनको मूल्य बृद्धि गराउनकै लागि यस्तो गरिएको हो भन्ने आशंका धेरैतिर उत्पन्न भएको छ । आफू स्वयसँग भएको डजक्वाइन र टेस्ला कम्पनीको नाममा भएको डजक्वाइनलाई लिएर कुनै कदम चाल्नकै लागि मस्कले यस्तो गरेका हुन कि भन्ने प्रश्न पनि अघि आइरहेको छ ।

तर, यस विषयमा भने आधिकारिक रुपमा मस्क वा टेस्लाकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

यस्तोमा प्रश्न आउँछ- आखिर यो कुकुर के हो ? जवाफ हो- एउटा साधारण सामाजिक सञ्जालमा चर्चित भएको मिम ।

जापानमा कुकुरको एक किसिमको प्रजाती छ, जसलाई शिबा इनू भनिन्छ । यो प्रजातीकै एक कुकुरको नाम हो काबोसू । सामाजिक सञ्जालमा यो कुकुरको तस्बिर सन् २०१० मा सार्वजनिक भएको थियो । तब यो कुकुरको तस्बिर एक ब्लगपोस्टमा राखिएको थियो ।

यो कुकुरलाई एक ‘डग सेल्टर’ले बचाएको थियो । शिबा इनू प्रजातीको यो कुकुरको फोटो अहिले पनि सामाजिक सञ्जालमा विभिन्न मिम बनाउँदा वा मजाक गर्दा प्रयोग भइरहेको छ । र अहिले यो कुकुर ‘डज’ वा ‘डोजी’ को नामले चर्चित छ । डजक्वाइनसँग आवद्ध हुँदा त झन् यो कुकुरको चर्चा निकै बलियो भएको थियो । डजक्वाइनले पनि आफ्नो पहिचानको रुपमा यहि कुकुरको तस्बिरलाई प्रयोग गरिरहेको छ ।

वाशिङटन पोस्टको एक रिपोर्टकाअनुसार यो कुकुर तब लोकप्रिय भयो तब सफ्टवेयर इन्जिनियर बिली मार्कर र ज्याक्सन पाल्मरले बिटक्वाइनको प्यारोडीको रुपमा डजक्वाइन बनाएका थिए । मार्कसले बताएअनुसार उनीहरुले डजक्वाइनलाई दुई घन्टामा बनाएर तयार गरेका थिए ।


क्लिकमान्डु