लघुबीमा कम्पनीले अझै पुँजी जुटाउन सकेनन्, ४५ दिन म्याद थप



काठमाडौं । लघुबीमा व्यवसाय गर्ने अनुमति पाएका लघुबीमा कम्पनीहरुले तोकिएको समयभित्र पुँजी जुटाउन नसकेपछि नेपाल बीमा प्राधिकरणले ४५ दिन समय थप गरेको छ । प्राधिकरणबाट मंसिर ११ गते लघुबीमा व्यवसायका लागि अनुमति पाएका सात कम्पनीले पुँजी जुटाउन नसकेपछि समय थप गरिएको हो ।

प्राधिकरणले अनुमति प्राप्त कम्पनीलाई मापदण्डअनुसार ७५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो । तर, ७ मध्ये ३ वटाले अझै पुँजी जुटाउन सकेका छैनन् ।

प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सले प्राधिकरणले पहिलो पटक तोकेको समयमा पुँजी जुटाउन नसकेका हुन् । बाँकी ४ कम्पनीहरुले भने पुँजी जुटाएका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पुँजी जुटाएका हुन् ।

तोकेको समयमा पुँजी जुटाउन नसेकेपछि कम्पनीहरुले समय थप गर्न प्राधिकरणलाई निवेदन दिएका थिए । पुँजी जुटाउन समय थप गर्न माग आएसँगै ४५ दिनको समय दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

लघु बीमक संस्थापन तथा दर्तासम्बन्धी निर्देशिकाअनुसार पुँजी जुटाउन निर्देशन दिएको ६ महिनाभित्र न्यूनतम पुँजी पुर्‍याउने कम्पनीलाई लाइसेन्स वितरण गर्न सकिने व्यवस्था छ । त्यसअनुसार पुँजी जुटाउन सयम थप गरिएको उनको भनाइ छ ।

धिकरणले जीवनतर्फ ३ र निर्जीवनतर्फ ४ गरी ७ कम्पनीलाई अनुमति दिएको थियो । लघु जीवन बीमा कम्पनीतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् ।

लघु निर्जीवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छन् ।


क्लिकमान्डु