अवैध व्यापार बढेको भाषण गरेका अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पदबाहालीको क्रममा सीमा क्षेत्रमा अवैध व्यापार बढेको बताएका थिए ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि अवैध व्यापार रोक्न सरकार निर्मम हुनु पर्ने सुझाव दिए ।

पदावाहलीकै क्रममा मन्त्री महतले सीमा क्षेत्रमा देखिएका गलत गतिविधि हुने छिद्र टालेर राजस्व वृद्धि गर्नु पर्नै धारणा राखेका थिए ।

मन्त्री महतले पदबाहलीका क्रममा राखेका धारणाअनुसार सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् ।

गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक सोमबार (आज) दिँउसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्दैछ ।
अर्थ मन्त्रालयका एक अधिकारीकाअनुसार मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

‘मन्त्रीज्यूले दुई दिन पटक गृहमन्त्री ज्यूलाई फोन गरेर केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुन समय माग्नु भएको थियो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘हिजो मन्त्रालयमा उहाँले देखाएको सक्रियता अनुसार सधैं काम गर्नुभयो भने सकारात्मक परिणाम आउँला । यदी सुरु सुरुमा काम गरे जस्तो देखाउने र भित्रि मनसाय अर्कै हुने हो भने केही भन्न सकिन्न ।’

समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।

विगतमा राजस्व चुहावट नियन्त्रणका लागि बस्ने समितिको बैठक कर्मकाण्डी मात्रै हुने गरेकोमा यस पटक साच्चिकै अवैध गतिविधि रोक्न समितिले काम गर्छ वा गर्दैन् भन्ने आगामी दिनमा हुने गतिविधिले देखाउने छ ।

व्यवसायीहरुले समेत भन्सारमा अवैध गतिविधि बढेको गुनासो गरेकाले पछिल्लो समय सीमा नाकामा राजस्व चुहावट बढेको पुष्टी हुन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरु पनि सीमा नाकामा अवधै गतिविधि ह्वात्तै बढेको बताउँछन् ।


क्लिकमान्डु