गभर्नरलाई अर्थमन्त्री महतले भने- कुनै पूर्वाग्रह नराखी सँगसँगै काम गरौं



अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा जानकार देखिएका मन्त्री महतले लगानीको वातावरण सुधार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने गरि जनाएको प्रतिबद्धताअनुसार काम गर्छन् वा गर्दैनन् भन्ने विषय आगामी दिनमा गर्ने निर्णयले देखाउँनेछ ।

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतले व्यवसायीक वातावरण सुधार गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै पूर्वाग्रह नराखि काम गर्ने बताएका छन् ।

पदबाहाली कार्यक्रमपछि मन्त्रालय र मातहतका कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री महतले अहिले ब्याजदर बढी भएकाले व्यवसायको लागत बढेको गुनासो व्यवसायीले गरिरहेकाले उक्त समस्या समाधानको पहल गर्नु पर्ने बताए ।

‘तपाईंहरू सबैसँग कुनै पूर्वाग्रह नराखि सँगसँगै काम गरौं भन्ने आग्रह छ’ महतले भने, ‘अहिले हामीले व्यक्तिगत लाभ र हानीभन्दा माथि उठ्दै राष्ट्र हितलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेछ ।’

अहिले अर्थतन्त्र समस्यामा रहेकोभन्दै आम नागरिक, उद्योगी व्यवसायी सबैको मनोबल बढाउने गरि काम गर्नु पर्ने महतले बताए ।

‘लगानी घटेको छ । लागत बढेको छ । राजस्वले साधारण खर्च धान्न सकेको छैन। साधारण खर्च गर्न पनि आन्तरिक ॠण लिनु परेको छ । जुन सुखद् होइन’ महतले भने,’अहिले बाह्य परिवेश पनि राम्रो छैन । देशले कोरोना महामारी भोग्यो, भूकम्प पनि भोग्यो । तर, हामीलाई यो पक्ष त्यो भन्ने छुट छैन । मलाई नजिता चाहिन्छ । हामी सबै मिलेर काम गर्नुपर्नेछ ।’

अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै गभर्नर अधिकारीसँग बैठक गरेका छन् ।

महतले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राख्दै गभर्नर अधिकारीसँग पछिल्लो आर्थिक अवस्थाका विषयमा छलफल गरेका छन् ।

पदबाहलीपछि सम्बोधनका क्रममा मन्त्री महतले वर्तमान आर्थिक अवस्था ठिक नरहेको बताएका थिए ।

‘राजस्वले चालू खर्च धान्न पुग्ने अवस्था छैन । राजस्व बढाउन गरि सुधार गर्नु पर्ने अवस्था छ,’ महतले भने,’औपचारिकभन्दा पनि अनौपचारिक प्रणालीबाट आयात भएको सुनेको छु । त्यसलाई समाधान गर्नु पर्छ । सीमा क्षेत्रमा देखिएको छिद्र टाल्न काम गर्नु पर्छ ।’

लगानी नबढ्दासम्म सरकारको आम्दानी बढ्न नसक्नेभन्दै महतले मौद्रिक र बित्त नीति एक भएर काम गर्ने लगानीको वातावरण बनाउन काम गर्नुपर्ने बताए ।

‘सेयर बजार, सहकारी, लघुवित्तमा देखिएका समस्यालाई विश्लेषण गर्दै समस्या समाधान गरौं । ब्याजदर बढी भयो भन्ने छ, औपचारिक क्षेत्रको कमाइ पनि प्राणालीमा आएको छैन । त्यसलाई पनि समाधान गर्नु पर्छ’ महतले भने,’हामीले नतिजामा आधारित काम गर्नु पर्छ । आफ्नो बारेमाभन्दा पनि हामी जनताको लागि काम गर्दैछौं भन्ने सन्देश सम्प्रेषण गर्नु पर्नेछ । आम नागरिकप्रति विश्वास सिर्जना गर्नेलाई काम गर्नु पर्नेछ ।’

आगामी आर्थिक वर्षको बजेट चालू खर्च काटौती गर्ने गरि बनाउनु पर्ने र ॠणमा लिएको रकमबाट पूँजीगत खर्च छरेर गर्नुभन्दा भविष्यमा साँवा ब्याज तिर्न सक्ने परियोजनामा मात्रै खर्च गर्नु पर्ने महतले बताए ।

‘यो वर्षको बजेट अन्य वर्ष जस्तो हुने छैन’ महतले भने,’हामीले व्यवसायीको मनोबल बढाउने गरि काम गर्नु पर्नेछ । यो बजेटले अर्थतन्त्र सुधारको जग हाल्नेछ ।’

जानकार देखिएका मन्त्री

अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा जानकारी देखिएका मन्त्री महतले आम नागरिकका आशाको संचार गर्ने गरि काम गर्ने बताए ।

चालू खर्च अस्वभाविक भएको, पूँजी गत खर्च प्रभाकारी नभएको, बजेट बनाउने तरिका ठिक नभएको, राजस्व चुहावट भएको भाषण गरेका मन्त्री महतले चालू आर्थिक वर्ष बजेट नबन्दासम्म बधाई लिने कार्यक्रममा सहभागी नहुने पनि बताए ।

मन्त्रालयमा सम्बोधनका क्रममा पटक पटक ब्याजदर बढी भएको भाषण गरेका मन्त्री महतले विदेश मुद्राको सञ्चितिको विषय भने केही बोलेनन् ।

सुशासन कायम गर्ने भाषण गरेका मन्त्री महतले संकटको समयमा परिवारले गर्ने जस्तै कठोर निर्णय गर्नु पर्ने अवस्थामा आफू रहेको बताए ।

राजस्वले साधारण खर्च नधान्ने अवस्था सरकारी कोष फुक्काफाल गर्न नसक्ने अवस्था रहेको उल्लेख गरेका मन्त्री महतले साधारण खर्च कटौतिमा निर्मम हुने उद्घोष गरे ।

अनिवार्य दायित्व बाहेका खर्च कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेका महतले पूँजीगत खर्च बढाउने गरि काम गर्ने घोषणा गरे ।

अर्थमन्त्रीको रूपमा अर्थतन्त्र थप खराब हुनबाट रोक्दै सकारात्मक आशाको संचार सम्प्रेषण गर्ने बताएका महतले अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्ने घोषणा गरे ।

स्वदेशी उद्योगी र गैर आवासीय नेपालीलाई लगानी बढाउन आग्रह गरेको महतले अन्तर्राष्ट्रिय कारणले पनि हाम्रो अर्थतन्त्र समस्यामा परेको भन्दै समग्र राज्य संयन्त्रले लगानीको वातावरण बनाउने गरि निर्णय आश्वासन दिए ।

अहिले ॠण लिनेहरू, माइक्रोफाइनान्स, सहकारी समस्यामा रहेको भन्दै देशलाई केन्द्रमा राखेर नेपाल राष्ट्र बैंक संग समन्वय गर्दै सरकारले निर्णय गर्ने पटक पटक दोहर्‍याएका थिए ।

शेयर बजार घर जग्गा सुस्त भएकोभन्दै अर्थ मन्त्रालयको टिमले स्वदेशी र अन्तर्राष्ट्रिय निकाससँग सहकार्य गर्दै लगानीको वातावरण सकारात्मक बनाउन काम गर्ने उनले बताए ।

लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भूमिका रहेको भन्दै महतले सबै पक्षसँग मिलेर अर्थतन्त्र सुधार गर्न लाग्ने प्रतिबद्धता जनाए ।

ब्याजदर बढी भयो भन्ने अवस्थालाई अन्त्य गर्ने

पहिलो चरणमा हाल देखिएको नकारात्मक वातावरणलाई अन्त्य गर्ने महतको प्रतिबद्धता छ । र, मितव्ययिता प्रमुख प्राथमिकता रहेको भन्दै त्यसमा सरकार लाग्ने महतले बताए ।

अर्थतन्त्रका विविध पक्षमा जानकार देखिएका महत साच्चै राज्य कोष बलियो बनाउने, लगानी वातावरण बनाउने, अनावश्यक खर्च कटौती गर्ने, पुँजीगत खर्चमा सुधार गर्ने जस्ता काममा लाग्छन् वा केही समूहको स्वार्थमा काम गर्न लाग्छन् भन्ने विषय आगामी दिनमा महतले गर्ने निर्णय र गर्ने काममा निर्भर हुनेछ।

विगतका मन्त्रीहरूले सचिवले दिने पहिलो निर्णयको फाइल सिधैं स्वीकृत गर्ने गरेकोमा महतले सबै फाइल अध्ययन गरेका थिए।

त्यसपछि मात्रै आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्थाअनुसार नगद प्रवाह योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरे ।

सबैभन्दा पहिला मन्त्री महतले मन्त्रालय र मातहतका कर्मचारीलाई कसरी सरूवा गर्छन् र कसलाई के जिम्मेवारी दिन्छन् भन्ने विषयले उनको आजको भाषण र गर्न खोजेको कामको संकेत गर्नेछ ।

जसरी विगतका मन्त्रीलाई सचिवले अर्थतन्त्रको पछिल्लो अवस्थाको विषयमा जानकारी दिनु पर्दथ्यो, महतलाई जानकारी दिनु परेन । तर, महतले आफैंले भने अनुसार अर्थतन्त्रलाई केन्द्रमा राख्दै काम गर्छन् वा गर्दैनन् त्यसलाई समयले पुष्टि गर्दै जानेछ ।


शरद ओझा