अर्थतन्त्र जोगाउन कठोर निर्णय गर्छु, ब्याजदर घटाउँछु, कर बढाउँदिन : अर्थमन्त्री महत



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तो सुकै कठोर निर्णय गर्न पछि नपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले देश पनि परिवार भएको र संकटको समयमा परिवारले जस्तो कठोर निर्णय गर्नु पर्ने बताए ।

‘संकटमा रहेको अर्थतन्त्र बचाउन अर्थमन्त्रीको रूपमा मैले कठोर निर्णय गर्ने छु’ उनले भने, ‘ राजस्वले साधारण खर्च पनि पुगेको छैन । साधारण खर्च धेरै छ। यसमा निर्मम हुनै पर्छ । हामी अनिवार्य बाहेकका खर्च कटौती गर्नेछौं ।’

पूँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको प्रति उनले चिन्ता व्यक्त गरे । त्यस्तै बजारमा सोचेभन्दा बढी महँगी हुँदा जनता मारमा परेको उनको भनाइ थियो ।

‘अर्थमन्त्रीको रूपमा मैले अर्थतन्त्र थप खराब हुनबाट रोक्ने गरि निर्णय गर्नेछु’ उनले भने, ‘अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि करको दायरा बढाउने बाटोमा सरकार लाग्नेछ ।’

लगानीको वातावरण नबन्दा सम्म सरकारको राजस्व बढ्न नसक्ने उनको भनाइ छ ।

देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित भएको र सिपमुलक जनशक्ति पलायन भइरहँदा अर्थतन्त्र संकटतर्फ गएको उनले बताए । अर्थतन्त्रमा सुधार ल्याउन स्वदेशी र विदेशी लागनीको आवश्यकता रहेकोले गैर आवासीय नेपालीलाई लगानी गर्न उनले आग्रह गरे ।

देशको अर्थतन्त्र आन्तरिक कारणले मात्र नभइ वाह्य कारणले पनि समस्यामा परेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय कारणले पनि हाम्रो अर्थतन्त्र समस्यामा परेको हो । अहिले ॠण लिनेहरू, माइक्रोफाइनान्स, सहकारी समस्यामा छन् । देशलाई केन्द्रमा राखेर नेपाल राष्ट्र बैंक संग समन्वय गर्दै सरकारले निर्णय गर्नेछ । समग्र राज्य संयन्त्रले लगानीको वातावरण बनाउने गरि निर्णय गर्नेछ’उनले भने ।

शेयर बजार र घर जग्गाको कारोबार सुस्त भएको भन्दै उनले चिन्ता व्यक्त गरे । आफूले टिमवर्क गर्ने र विभिन्न निकायहरुसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

‘मैले एक्लै केही गर्ने होइन । अर्थ मन्त्रालयको टिमले स्वदेशी र अन्तर्राष्ट्रिय निकाससँग सहकार्य गर्दै लगानीको वातावरण सकारात्मक बनाउन काम गर्नेछ,’ उनले भने, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ। हामी सबै पक्षसँग मिलेर अर्थतन्त्र सुधार गर्न लाग्नेछौं ।’

पहिलो चरणमा सरकारले नकारात्मक वातावरणलाई अन्त्य गर्ने उनको भनाइ छ । बैंकको ब्याजदर बढी भयो भन्ने अवस्थालाई अन्त्य गर्ने उनले बताए ।

‘हामी दुई पक्षीय र बहुपक्षीय संस्था सँग सहकार्य गर्नेछौं । स्वदेशी उद्यमी र एनआरन संग हामी सहकार्य गर्नेछौं । र, मितव्ययिता हाम्रो प्रमुख प्राथमिकता हो। हामी त्यसमा लाग्नेछौं’ महतले भने ।


क्लिकमान्डु