अपार्टमेन्ट किनबेच ३१ प्रतिशतले घट्यो, बिक्री बढाउन उपहार दिँदै व्यवसायी



काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा अपार्टमेन्टको किनबेच ३१ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको ८ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा अपार्टमेन्टको किनबेच ३१.४५ प्रतिशतले घटेको हो ।

गतवर्ष साउनदेखि फागुन मसान्तसम्ममा ३३७ वटा अपार्टमेन्ट किनबेच भएका थिए । गत वर्षको साउनमा देशभर ५२ वटा, भदौमा ५६ वटा, असोजमा ५३ वटा, कात्तिकमा ३५ वटा, मंसिरमा ४१ वटा, पुसमा ३० वटा, माघमा ३२ र फागुनमा ३८ वटा अपार्टमेन्ट बिक्री भएका थिए ।

तर, करिब एक वर्षयतादेखि बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र ब्याजदर वृद्धिले गर्दा अपार्टमेन्ट किनबेचमा उच्च प्रभाव देखिएको विभागले जनाएको छ । यो वर्षको साउनदेखि फागुनसम्ममा २३१ वटा मात्रै अपार्टमेन्ट बिक्री भएको विभागको तथ्याङ्कले देखाउँछ । विभागअनुसार गत साउनमा देशभर २५ वटा मात्रै अपार्टमेन्ट किनबेच भएका छन् ।

त्यस्तै, भदौमा ३१ वटा, असोजमा २२ वटा, कात्तिकमा ३० वटा, मंसिरमा २६ वटा, पुसमा २४ वटा, माघमा २२ वटा र फागुनमा ५१ वटा अपार्टमेन्ट बिक्री गरेका छन् । एक वर्षयता तरलता अभावले अपार्टमेन्ट मात्रै नभएर घरजग्गा किनबेचमा उच्च प्रभाव परेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्ममा गत वर्षको तुलनामा देशभरको घरजग्गा किनबेच करिब ६५ प्रतिशतले कमी आएको छ । बैंक तथा वित्तीय संस्थाले पर्याप्तमा मात्रामा कर्जा प्रवाह गर्न नसकेको अवस्थामा थप ब्याजदर वृद्धि गर्दा अधिकांश रियल स्टेट व्यवसायीहरु मारमा छन् ।

बजारमा तरलता अभाव तथा ब्याजदर वृद्धिले निम्त्याएको नगद प्रवाहमा समस्या देखिएपछि रियल स्टेट व्यवसायीहरुले पछिल्ला दिनहरुमा ग्राहक लक्षित योजना ल्याउन थालेका छन् । निर्माण गरेको लामो समयसम्म पनि अपार्टमेन्टहरु बिक्री नभएपछि ग्राहकहरुलाई आकर्षण गर्न रियल स्टेट व्यवसायीहरुले विभिन्न योजना सार्वजनिक गरेका छन् ।

अपार्टमेन्टहरुले सार्वजनिक गरेका अफर

सोल्टी सिटी अपार्टमेन्टले रविभवनमा निर्माण गरेको अपार्टमेन्टमा ग्राहकलाई अफर ल्याएको छ । कम्पनीले अपार्टमेन्ट खरिद गर्दा हुन्डाईको ३० लाख र ४० लाख पर्ने गाडी उपहार दिने अफर ल्याएको हो ।

कम्पनीकाअनुसार ९२० स्क्वारयरफिटको थ्रीबएचके अपार्टमेन्ट खरिदमा ३० लाख मूल्य पर्ने हुन्डाईको आइटेन निओस गाडी दिने जनाएको छ । उक्त अपार्टमेन्टको मूल्य १ करोड ९३ लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, कम्पनीले ११६० स्क्वायरफिटको थ्रीबीएचके अपार्टमेन्ट खरिदमा हुन्डाई आइट्वान्टी गाडी उपहार दिने योजना सार्वजनिक गरेको छ । बजारमा उक्त गाडीको मूल्य अहिले ४० लाख पर्ने कम्पनीको भनाइ छ । कम्पनीले अपार्टमेन्टको मूल्य २ करोड ४३ लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै, रोयल अर्चिड डेभलपर प्रालिले हात्तिवनमा निर्माण गरेको अपार्टमेन्ट युनिट खरिद गर्दा हुन्डाई आइटेन नियोस उपहार प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले १०३० स्क्वारफिटमा बनेको थ्रीबीएचके अपार्टमेन्ट युनिट खरिद गर्दा ३० लाख पर्ने गाडी निःशुल्क दिने भएको हो । कम्पनीले उक्त अपार्टमेन्टको मूल्य १ करोड ५७ लाख रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु