राष्ट्रिय गौरवका सडक आयोजना: ८ महिनाको प्रगति न्यून



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको विभिन्न राजमार्गहरुमा चालू आर्थिक वर्षमा भएको प्रगति एकदमै न्यून देखिएको छ ।

सोमबार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीकाअनुसार चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि राष्ट्रिय गौरवका सडक आयोजनाहरुको प्रगति एकदमै न्यून देखिएको छ ।

मध्य पहाडी राजमार्गमा चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा जम्मा ४२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले बताएअनुसार उक्त राजमार्गमा चालू आवमा थप ३ वटा पुलको निर्माण भएको छ ।

त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत पनि चालू आर्थिक वर्षमा जम्मा ३६.५ किमि सडक मात्रै कालोपत्रे भएको छ । मन्त्री श्रेष्ठकाअनुसार थप ८ पुलको निर्माण चालू आर्थिक वर्षमा भएको छ । श्रेष्ठले मन्त्रालय सम्हालेपश्चात पछिल्लो तीन महिनामा उक्त राजमार्गमा १५ किमि मात्रै कालोपत्रे भएको छ ।

मध्यपहाडी र हुलाकी राजमार्गजस्तै राष्ट्रिय गौरवका सडकअन्गर्तत रहेका उत्तर दक्षिण राजमार्गअन्तर्गतको कालिगण्डकी कोरिडोरमा थप ९ किमि कालोपत्रे र ३ वटा पुलको निर्माण भएको छ । कर्णाली कोरिडोरमा चालू आवमा जम्मा ३८ किमि सडक मात्रै चौडा पार्ने काम सम्पन्न भएको छ । त्यस्तै कोशी कोरिडोरमा पछिल्लो तीन महिनामा १३ किमि गरि चालु आर्थिक वर्षमा जम्मा १५ किमि सडक ग्राभेल स्तरमा स्तरोन्नति गर्ने काम भएको मन्त्री श्रेष्ठले बताएका छन् ।


क्लिकमान्डु