आर्थिक संकट समाधानका लागि राजनीतिक दलहरु सहमतिका साथ अघि बढ्नु पर्छ: कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए ।

‘अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन’ उनले भने ।

अर्थतन्त्रमा देखिएका संकट हटाउन प्रधानमन्त्रीसहित मन्त्रीहरुले नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्नु पर्ने उनको भनाइ छ ।

नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने बताए ।

‘देशको सवल अर्थतन्त्रका लागि समयसमयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अगाडि बढौं’ कोइरालाले भने, ‘नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रर्दशन गरेर पुग्दैन । सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ ।’


क्लिकमान्डु