अर्थतन्त्रमा सुधार देखियो, बैंकको ब्याजदर घटिरहेको छ: प्रधानमन्त्री (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रमा सुधार देखिएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग माग्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका निर्णयहरू कार्यान्वयनमा लगिसकिएको र यसैको परिणामस्वरुप केही आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजा देखिएको बताए ।

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको र तरलता सङ्कुचनको स्थितिमा सुधार आएको भन्दै प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटिरहेको बताए ।

‘अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा छ । तरलता सङ्कुचनको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमन आदि क्षेत्रमा उत्साहजनक प्रगति छ । ब्याजदर घटिरहेको छ’ प्रधानमन्त्रीले भने,’सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको छ । खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ । बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्र्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको छ ।’


क्लिकमान्डु