आर्थिक परिसूचकहरुमा सकारात्मक प्रभाव देखिन थालेको छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय केही आर्थिक परीसूचकहरुमा सकारात्मक प्रभाव देखिन थालेको बताएका छन् ।

नेकपा एमाले र राप्रपाका मन्त्रीहरु सरकारबाट बाहिरिँदा प्रभाव नपरेको भए उपलब्धीको सूची अझै बढ्ने थियो भन्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको वाह्य क्षेत्र सुधारको क्रममा रहेको बताए ।

‘केही आर्थिक परिसूचकहरुमा सकारात्मक प्रभाव देखिन थालेको छ । अर्थतन्त्रको वाह्य क्षेत्र सुधारको क्रममा छ । तरलता संकुचनको स्थितिमा सुधार आएको छ । विदेशी मुद्राको सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगामन आदी क्षेत्रमा उत्साहजनक सुधार हुँदै आएको छ’ प्रधानमन्त्रीले भने ।

सरकारी खर्चमा मितव्यीता कायम गर्नका लागि अनावश्यक खर्च कटौतीमा सरकार केन्द्रीत रहेको उनले बताए ।

‘ब्याजदर घट्दै गएको छ । सरकारी खर्चमा मितव्यीता कायम गर्न अनावश्यक खर्च कटौती प्राथमिकताका क्षेत्रमा स्रोतको कमी हुन नदिने गरि बजेटको पुनर्विन्यासको काम सुरु भएको छ’ प्रधानमन्त्रीले भने, ‘खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ अधिकारुीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । बढ्दो व्यापार घाटालाई कम गर्न नयाँ नेपाल व्यापार एकीकृत रणानीतिक कार्यान्वयनमा ल्याइएको छ ।’


क्लिकमान्डु