नेपालीको बानी बचतभन्दा खर्च गर्नेमा बढी: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा खर्च गर्ने प्रवृति रहेको बताए ।

‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौं । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ’ गभर्नर अधिकारीले भने ।

मुद्रा बचत गर्न जरुरी रहेको भन्दै उनले बचतबाट नै आम्दानी बढ्ने बताए । गभर्नर अधिकारीले रकम बचत नगरे खर्च हुने भएकाले बचतमा जोड दिनुपर्ने बताए ।

राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर रहेको उनले बताए । गनर्भर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसकिने बताए ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजनासमेत रहेको उनको भनाइ छ ।

‘२०५२ सालमा कुनै कम्पनीको मूल्याङ्कन विश्लेषणको लागि लिएको १० कित्ता शेयरले अहिले लाखौं लाखको सम्पत्ति बनाइदिएको छ । बचतमा रेट राम्रो छ । १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन् । त्यो बचतले काम गर्छ । त्यसैले बचत अत्यन्तै जरुरी छ । त्यो रकम कतै बचत नगरे पनि खर्च भएर जान्छ । बचत अनिवार्य हो’ अधिकारीले भने ।

‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्’ भन्ने नारासहित सोमबारदेखि ग्लोबल मनी विक–२०२३ सुरु भएको छ । ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।

अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्पmत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् । यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतनामुलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ ।

यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच बिस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।


क्लिकमान्डु