आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८०% राजस्व, गत वर्षभन्दा कम



काठमाडौं । आन्तरिक राजस्व विभाग लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ ।

विभागले फागनु मसान्तसम्म ३ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ८१ अर्ब रुपैयाँमात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ७९.६८ प्रतिशत हो ।

विभागले गत वर्ष फागनु मसान्तसम्म २ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुन महिनामा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भए पनि गत वर्षभन्दा २ प्रतिशत बढी राजस्व उठेको छ । विभागले फागनु महिनामा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा २८ अर्ब ९८ करोड रुपैयाँमात्रै संकलन भएको छ । गत वर्ष फागुन महिनामा विभागले २८ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आयकर गत वर्षभन्दा ९ प्रतिशत कम, घरबहाल कर गत वर्षभन्दा १० प्रतिशत कम, आन्तरिकतर्फको मूल्यवृद्धि कर गत वर्षभन्दा ३ प्रतिशत कम संकलन हुँदा समग्र राजस्व लक्ष्य प्रभावित भएको हो ।

फागुन मसान्तसम्म विभागले आयकर लक्ष्यको ७३.९८ प्रतिशत, घरबहाल कर ७८.८१, ब्याजकर ८४.३६, मूल्यवृद्धि कर ८३.३२ प्रतिशत, अन्तशुल्क ८४.३६ प्रतिशत संकलन भएपछि लक्ष्यभन्दा निकै कम राजस्व उठेको हो ।


क्लिकमान्डु